देवदह । सार्वजनिक महत्वका विविध निर्णय गर्दै देवदह नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगर प्रमुख धुर्व प्रसाद खरेलको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले गरेका निर्णय नगर प्रवक्ता गणेश डुम्रेले सार्वजनिक गरेका छन्।
मंगलबार संचारकर्मीसंग कुरा गर्दै प्रवक्ता डुम्रेले कार्यपालिका बैठकले देवदह क्षेत्रका खोलाहरूबाट निकासी गरी डम्पिङ्ग गरिराखेको नदीजन्य पदार्थको यसअघि कार्यपालिकाको बैठकले तोकेबमोजिमको राजश्व आगामी १५ दिनभित्र राजश्व बुझाउने समय दिने र तोकिएको समयमा पनि नबुझाएमा त्यस्ता व्यवसायलाई कालो सूचीमा राख्ने निर्णय गरेको बताए। यसअघिको नगरकार्यपालिकाको बैठकले समयमै डम्पिङ्ग क्लियर नगर्ने विभिन्न व्यवसायीहरूबाट झन्डै आधा करोड बराबरको राजश्व लिने निर्णय गरेको थियो।
त्यसैगरी कार्यपालिका बैठकले देवदह नगरपालिका क्षेत्रका विभिन्न बजार क्षेत्रलाई लक्षित गरी कम्पोष्ट बिन वितरण गर्ने निर्णय नगरपालिकाले गरेको छ। प्रवक्ता डुम्रेका अनुसार पहिलो चरणमा देवदह नगरपालिका–१ देखि १२ वटै वडालाई समेटेर करिव २५ सय वटा कम्पोष्टविन वितरण गरिने निर्णय नगरपालिकाले गरेको छ।
कार्यपालिका बैठकले देवदह नगरपालिकाका २ वटा वडालाई आगामी बर्षभित्र वालमैत्री वडा घोषणा गर्ने गरी योजना अगाडि सार्ने निर्णय छ जसमा देवदह-५ र १० लाई वालमैत्री वडा घोषणा गर्ने गरी अभियान संचालन गर्ने निर्णय भएको हो।
बैठकले देवदह नगरपालिकाभित्र रहेका आर्थिक रुपमा बिपन्न परिवार पहिचान गरी परिचयपत्र वितरणको लागि छुटेकाहरूले गरिवी पहिचान परिचय पत्रको लागि सूचिकृत हुन उजुरी संकलनका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेको छ।
स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेको बताउदै आएको देवदह नगरपालिकाले क्यान्सर, मृगौला पिडित, मेरुदण्ड पक्षघातका विरामीहरुलाई संघीय सरकारको योजना अन्तरगत मासिक ५ हजार उपलव्ध गराउने निर्णय समेत नगरपालिकाले गरेको प्रवक्ता डुम्रेले जानकारी दिए ।
बैठकले देवदह नगरपालिकाको १२ औं नगर सभा चैत्र ७ गते गर्ने निर्णय गरेको छ। यसअघि २९ गते गर्ने भनिएको नगरसभा उपराष्ट्रपति निर्वाचनको आचारसंहिताका कारण चैत्र ७ गते गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology