काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले मंगलबार केही युवामाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छिन् ।
मंगलबार प्रधानमन्त्री दाहाल प्रचण्ड ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले नयाँ बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले युवाहरूको मुख थुनेर बोल्न दिएको थिएन भने उनीहरूलाई पक्राउ गरेको थियो । सोही विषयमा बुधबार सांसद पौड्यालले यसबारेमा सरकारको जवाफ माग गरेकी हुन् ।
उनले युवाहरू बोल्न खोजेका बेलामा प्रहरीले उनीहरूको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण मागेकी हुन् । संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै उनले मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन ? भन्दै प्रश्न गरिन् ।
‘संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन,’ उनले प्रश्न गर्दै भनिन्, ‘यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन ?’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology