बुटवल । राष्ट्रका लागि संगीत अभियात्रा टोली बुटवल आईपुगेको छ। वरिष्ठ जनवादी कलाकारको टोलीले भोलि बुटवलमा बृहत सांस्कृतिक कार्यक्रम जनाईएको छ।
सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै टोलीले देशका विभिन्न क्षेत्रमा सांस्कृतिक कार्यक्रम गर्ने क्रममा टोली बुटवल आईपुगेको जनाएको हो।

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ जनवादी गायक जीवन शर्माले राष्ट्र असफलता तर्फ जाने चिन्ताले संगीत अभियात्रा गरिएको बताए। "उद्योग धन्दा बन्द हुने अवस्थामा पुगे, कतै देश श्रीलंकाको दिशामा जाने त होइन" उनले भने, "यहि पिरले सबै जनसांस्कृतिककर्मीहरू संगीत अभियात्राको देश दौडाहामा छौं।"
कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता समेत रहेका जनगायक मणि शर्माले देश चुनाबदेखि चुनाबसम्म मात्रै पुग्ने र जनताका सपना पुरा नहुने कुरा कलाकारलाई पिरोलेको बताए। अभियानले बामपन्थी शक्तिलाई एक ठाउंमा ल्याउन दबाब दिने उनको भनाई छ।
अभियात्रामा जनवादी कलाकारहरू जीवन शर्मा, मणि शर्मा, उदय श्रेष्ठ, माधव प्रधान, चिरन पुन, कर्ण विद्रोही, निलिमा पुन, प्रगति महरा, मोहित श्रेष्ठ, नारायण शर्मा, कुस्मिता दर्लामी, उदय रिजाल, सन्ध्या मगर, कविता पुन, लक्ष्मण पाख्रिन, अनु शर्मा, निशा बुढा, आकृति भण्डारी लगायतको प्रस्तुति रहने जनाईएको छ।
कार्यक्रम भोलि दिउसो २ बजे बुटवलको रोज पार्टी प्यालेसमा हुने कलाकार चिरन पुनले जानकारी दिए।
बैशाख ५ गते काठमाडौंको प्रज्ञा भवनमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा अध्यक्ष विप्लब, मोहन बैद्य लगायतका बामपन्थी नेताहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गरेर अभियानको समापन गरिने बताईएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology