सुमन महतारा, गुल्मी । केही महिना अगाडि सेवा प्रवाहमा अब्बल मानिएको गुल्मी अस्पतालकाे अवस्था दुई महिनामै कन्तबिजोग बनेको छ । अस्पताल कार्यालय प्रमुख विहीन, एक्सरे मेसिन, थाइराइड मेसिन बिग्रने, आइसियु अलपत्र, ६० प्रतिशत औषधि बाहिर किन्नुपर्ने र दुई महिनादेखि कर्मचारीले तलब नपाएपछि अवस्था भयानक भएको हो । 
उपचारको लागि अस्पताल पुगेका बिरामी सरकारी अस्पतालमा गएर निजीमा पठाउने गरेको गुनासो गर्दै आएका छन् । केहि बिरामीले यसअघि गुल्मी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्याकाे सम्झना गरे । पच्या हुँदासम्म अस्पताल सेवा प्रवाहमा लगभग गुनासो विहीन बनेको थियोे । तर, बिहिवार अस्पताल पुगेका अधिकांश बिरामीले गुल्मी अस्पताल प्रति आक्राेश ब्यक्त गरे । एक्सरे जाँच, थाइराइड जाँच र अधिकांश औषधि किन्न निजीमा जान सरकारी अस्पतालले आग्रह गरेपछि बिरामी असन्तुष्ट बनेका हुन् ।दैनिक ३ देखि ४ सयसम्म बिरामीकाे उपचार गर्ने गुल्मी अस्पताल हाल नशा तथा हाडजोर्नी राेग बाहेक अरुकाे उपचारमा निकै सकस हुने गरेको छ ।
जिल्लाकाे मालिका गाउँपालिका-५ बाट उपचारको लागि गुल्मी अस्पतालमा आएका एक महिलालाई डाक्टरले सात औषधि लिन भनेपछि अस्पतालबाट ३ प्रकारको मात्र उपलब्ध भयो । बाँकी ४ प्रकारका औषधि बाहिर किन्न परेको छ । ती महिलालाई एक्सरे गर्न पनि निजी मेडिकलमा जानु परेको थियो । बिमा भएर पनि औषधि बाहिर किन्दा बिमाको अर्थ नभएको उनलेे गुनासो गरिन् । 
गुल्मी र अर्घाखाँची बाट बिरामी उपचारको लागि आउने गुल्मी अस्पतालमा हाडजोर्नीकाे उपचार मात्र व्यवस्थित बनेको छ । रेसुङ्गा नगरपालिकाले तलबभत्ता बराबरको थप सुविधा दिएर डाक्टर राखेपछि उपचार सहज बनेको हो ।
यता गुल्मी अस्पतालकाे संचालक समितिले अस्पतालमा माथि उल्लेखित बाहेक खानेपानी, बिजुलीर साँघुरो गल्ली लगायतका समस्या भएको प्रतिक्रिया सामाजिक संजालमा दिएका छन् । संचालक समितिका अध्यक्ष भरत पाण्डेले केहि दिनमा सबै समस्या समाधान हुने प्रतिक्रिया दिन्छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology