राजेश पराजुली, पोखरा । सहकारी क्षेत्रमा देखिएका विकृति र विसंगती विरुद्ध साझारुपमा लड्ने प्रतिवद्धताका साथ ६६ औं राष्ट्रिय सहकारी दिवस सोमबार पोखरामा मनाइएको छ ।
सहकारीको दिगोपन, स्वनियमन र सुशासन भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । पोखरा सभागृहमा आयोजित कार्यक्रममा सहकारी अभियन्ता, संचालक, कर्मचारी, निक्षेपकर्ता र नियमनकारी निकायका अधिकारीहरु जम्मा भएका थिए । उक्त दिवसका अवसरमा हरेक वर्ष पोखरामा र्याली आयोजना गर्ने गरिएको भएपनि यो पटक सिधै सभाको आयोजना गरिएको थियो । 
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहकारीको दिगो पनाका लागि संस्थामा सुशासन आवश्यक पर्ने भनाई राखे । देशको आर्थिक विकासमा सहकारीले पुर्याएको योगदानलाई विर्सन नमिल्ने भन्दै उनले आफ्नो संस्थाका गतिविधिप्रति सदस्यहरु पनि चनाखो हुनुपर्ने सुझाव राखे ।
सो अवसरमा आयोजित अन्तरक्रियामा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले सहकारीको दिगोपन, स्वनियमन र सुशासन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उनले सहकारीलाई कसरी दिगो र सुशासन कायम गरेर सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण पनि प्रदान गरेका थिए ।
गुरागाईंको कार्यपत्र उपर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका पूर्व संचालक एवं सहकारी अभियन्ता भीम गुरुङ र पोखरा महानगरपालिका सहकारी शाखाका प्रमुख भरतराज पौडेलले टिप्पणी गरेका थिए ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका अधिकृत इश्वरी ढकालले पनि भनाई राखेकी थिइन् । सो कार्यालयका रजिस्ट्रार रोशन अर्याल कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थिति थिए ।
कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ कास्कीका महासचिव दीपक बास्तोलाले गरेका थिए । उक्त अवसरमा माछा, तरकारी र फलफूलका बिरुवा तथा सफ्टवेयर सम्बन्धी प्रदर्शनी पनि गरिएको थियो ।
सो अवसरमा लाइफकेयर डाइग्नोस्टिक प्रालिले निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरेको संस्थाका प्रवन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology