बुटवल । रुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा नतिजा प्रकाशन, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमबीच शैक्षिक सत्र २०७९ मा तहगत र कक्षागत प्रथम, द्वितीय र तृतीय हुने कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई पुरस्कृत र अभिभावकलाई सम्मान तथा विद्यालयमा १० वर्षभन्दा बढी समयसम्म सेवा गर्ने शिक्षक-कर्मचारीहरूलाई मायाको चिनो सहित सम्मान पत्र प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले देशको उन्नति र प्रगतिका लागि विद्यार्थीहरूलाई सिप र संस्कारयुक्त शिक्षा दिनुपर्ने, विद्यार्थीहरूलाई पढाइ र व्यावहारिक क्रियाकलापप्रति उत्प्रेरित गर्नुपर्ने बताउँदै दीप बोर्डिङ हाई स्कुलले शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको उल्लेख गरे ।
कार्यक्रमका विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका कार्यालय प्रमुख दिपेन्द्र ढकालले विद्यार्थीहरूको समुज्वल भविष्यका लागि शिक्षक र विद्यालयको मात्र नभई अभिभावकको पनि रचनात्मक भूमिका हुने बताए भने लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्टार डा. तिलक आचार्यले दीप बोर्डिङ हाई स्कुलले शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै आगामी दिनमा यस विद्यालयको थप शैक्षिक सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा किशोर थापा, विजय सापकोटा लगायतको संयोजनमा दीप सांस्कृतिक परिवारका विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुति र नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी दीप साहित्यिक परिवारका विद्यार्थीहरूले शिक्षक पुरुषोत्तम पाण्डेद्वारा लिखित समसामयिक विषयवस्तु समेटिएको 'हामी कहाँ छौ' ? शीर्षकको नाटक प्रदर्शन गरेका थिए भने विद्यालयमा कार्यरत महिला शिक्षकहरूले समेत नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ढोँजूको अध्यक्षता र स्वागत, प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, अभिभावक महासंघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष यज्ञप्रसाद पङ्गेनी, रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पिया, प्याब्सन बुटवलका अध्यक्ष कुलानन्द पाण्डे, वि.व्य.स. उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, वि.व्य स. सदस्य वसन्तकुमार जोशी, लेखा प्रमुख रेखा श्रेष्ठ लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राचार्य टीकाराम न्यौपानेले शैक्षिक सत्र २०७९ मा उत्तीर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई र कार्यक्रममा उपस्थित हुने अतिथिगण, पत्रकार, शुभचिन्तक र सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय र विजय सापकोटाले गरेका थिए ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology