कृष्ण अन्जान, गुल्मी । पाेहाेर साल भेट्दा पनि उनी गाउँमै सिलाई पेशामा व्यस्त देखिन्थे र याे वर्ष पनि उनकाे पेशा चलेकै छ ।
"गाउँ रित्तै छ कताकति घरहरु छन। ती घरमा बस्नेहरुलाई कपडा सिलाउन बजार झर्न टाढा छ। त्यसैले पनि गाउँमा जेनतेन बसेर पेशा धानेकाे छु" रुरुक्षेत्र गाउँपालिका वडा न १ भट्कुवाका युवराज ज्ञवालीले भने ।
परिश्रमीका लागि कुनै पनि पेशा सानाे या ठुलाे हुँदैन भन्ने उदाहरण हुन रुरुक्षेत्र गाउँपालिका १ भट्कुवा नहकुलेका युवराज ज्ञवाली ।
उनी एघारवर्षदेखि भट्कुवामा सिलाई कटाईकाे पेशालाई व्यवसायीक बनाएर बसेका मात्र छैनन, यतिबेला गाउँमा कपडा सिलाउने उनी मात्र एकजना हुन ।
"दिनरात फुर्सदै हुँदैन, कपडा काट्ने सिलाउने कामले" सिलाई मसिन चलाउँदै युवराजले भने ।
शुरुमा उनले अँगालेकाे सिलाई पेशालाई गाउँमा जमाउन ठुलै कसरत गर्नु परेकाे तिताे यथार्थ उनीसंग छ ।
"जाति विशेषले गर्दै आईरहेकाे पेशा अँगाल्न गाउँमा आउँदा अपमान खप्नसम्म खपियाे तर निरन्तर लागिरहेँ र यतिबेला मेराे पेशा सम्मानित मात्र बनेकाे छैन कि लुगा सिलाउन परे म नभै हुँदै हुँदैन ।" विगत सम्झदै उनले भने।
गाउँमा विगतमा परियार समुदायले बालिघरे प्रथामा लुगा सिलाउने चलन थियाे। विस्तारै गाउँबाट याे समुदाय वसाई सरेपछि भाेट्केलीहरुलाई करिब पाँच किलोमिटर तल रिडीबजारमा लुगा सिलाउन जानूपर्ने वाध्यता बन्याे ।
यहि गाउँकाे वाध्यतालाई बुझेर युवराज ज्ञवालीले गाउँमै सिलाई कटाईकाे व्यवसाय शुरु गरेकाे बताउँछन ।
सन १९८८ तिर भारतकाे लुधियाना बस्दा उनले याे पेशा अँगालेका हुन । लुधियानाबाट दिल्ली सरेपछि उनी यहि पेशामा निरन्तर लागिरहे ।
"पढाइ थिएन, अरु सीप सिक्न सकिएन। याे सीप सजिलो पनि लाग्याे र सिकिहालेँ गाउँमा आएर यहि सीपलाई व्यवसाय बनाउँदा शुरुशुरुमा बाहुनका छाेराले लुगा सिलाउन थाल्याे भनेर छिछि र दुरदुर भईयाे त्याे एउटा समय थियाे तर छिटै समय फेरियाे" उनले भने ।
उनले गाउँमा मुख्यरुपले सर्ट, पाईन्ट, लेडिज सुट, चाेलाे, ब्लाउज सिलाउने गर्छन । "स्कुलकाे ड्रेस सिलाउने सिजन, तिज, दशैँ, विवाहमा त साह्रै भिडभाड हुन्छ जीवन सँगिनी लक्ष्मीले पनि राम्रै साथ दिएकि छिन" ज्ञवालीले भने ।
एउटा सिलाई मसिन र एउटा ईन्टरलकबाट काम चलाउँदै आएका युवराज ज्ञवालीलाई उनले दशवर्ष देखि धानेकाे सिलाई पेशा प्रति राज्यले एक नजर पनि लगाएकाे छैन ।
त्यसैपनि गाउँ रित्तिँदै छ, गाउँका विश्वकर्माका आरनहरु खालि छन, परियार समुदायले गाउँ छाडेका छन न गाउँमा दाम्ला, नाम्ला बुन्नेहरु छन न त अरु पेशा अँगाल्ने समुदाय नै गाउँमा छ।
यस्ताे अवस्थामा गाउँमै बसेर ज्ञवालीले सिलाई कटाईकाे सेवा दिंदै आएका छन्, जुन सर्हानिय छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology