काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले निजी विद्यालयलाई कुल विद्यार्थी संख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएका छन्।
नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान चलिरहेका बेला मेयर साहले सामाजिक सञ्जालमार्फत् शनिबार यस्तो निर्देशन दिएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ मा छात्रवृत्तिसम्बन्धी व्यवस्था छ। यो नियमअनुसार निजी तथा संस्थागत विद्यालयहरूले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्नुपर्छ। विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्छ।’
साथै उनले उपलब्ध गराइएको छात्रवृत्तिसम्बन्धी विवरण विद्यालयको वेबसाइट तथा सूचना पाटीमा टाँस गरेर अभिभावक र विद्यार्थीहरूलाई सूचित गराउन पनि निर्देशन गरेका छन्।
मेयर बालेनले यससम्बन्धी कुनै समस्या देखेकाे खण्डमा काठमाडौँ महानगरको कलसेन्टरमा फोन गरेर गुनासो गर्न सकिने पनि जनाएका छन्।
प्रमुख शाहले छात्रवृत्ति दिन अटेर गरे कानुनबमोजिम कारबाही गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology