प्रेम हुनु र गर्नुमा भिन्नता छ। जसरी आगो बाल्नु र लगाउनुमा पनि अन्तर छ। जीवनमा अनेक गल्तीहरु भइरहन्छन्। गल्ती हुनु र गल्ती गर्नु सबैमा धेरै नै भिन्नता छ ।
हिजो कामबाट फर्किदै गर्दा मेरो छेउमा एकजना बहिनी थिइन् । उनी हेर्दा सार्है मिजासिली अनि बोली पनि निकै मीठो थियो। डिप्लोमा नर्सिङ पढेर अहिले इन्ट्र्न्शिप गर्दै रहेछिन। देश र द्वेषका कुरा हुँदा हुँदै कुरैकुरामा उनको आगामी भविस्य र योजनाबारे कुरा भयो।
कुरा भयो पनि के भन्नू योजनाको बिषय सुरु भए लगत्तै अगिसम्म हसिली देखिएकी उनी एकाएक उनको मुहार आकाशमा बादल लागेझैँ धपक्कै भयो। उनी निशब्द भइन्। मेरो मनमा अनेक प्रश्नहरु आइरहे। तर केही सोध्ने आँट भने जुटाउन सकिन। यात्रा मौनतासङै चल्यो।
"दिदि" उनी बोलिन्
"हजुर"
"हजुरले अहिलेसम्म केही गल्ती गर्नुभएको छ कि छैन?"
"कहि न कहि गल्ती त सबैबाट हुन्छ नै, नानू। किन र?"
"यसै सोधेको"
उनी फेरि शान्त रहिन्।
अब मेरो मनको खुल्दुली बढ्न थाल्यो। मनमा अनेक प्रश्नहरु एकाएक भिड्न थालेझैँ भयो।
"तिमी ठिक छौ?"
मेरो प्रश्नले उनी झस्किएझैँ भइन्। अन्जान थिइन् तर केही छिनमै पनि किन किन उनी आफ्नै जस्तो लागेको थियो। तर मेरो आभास र उनको आभास पनि एउटै हुनुपर्छ भन्ने जरुरी भने पक्कै थिएन ।
"दिदी हजुरको फोन नम्बर दिनु न"
हामीले नम्बर साटासाट गर्याैँ। म ओर्लिने ठाँउ आयो म ओर्लिएँ। तर उनको आँखामा केही गुनासोहरु पोखिएझैँ लाग्यो।
यात्रामा रहेको सहयात्री त्यही यात्रामै मात्र सिमित होला सोचेकी थिएँ। आज बिहानै फोन हेर्दा केही अनुच्छेद नै हुने गरि उहीँ बहिनीको मेसेज आएको थियो। पढेँ। आँखाहरु भरिएर आए ।
गल्ती गर्नेबारे बहिनीले सोधेको प्रश्न साँच्चिकै यसै सोधिएको थिएन।
केही गल्ती उनी आफैले गरेका थिए। केही उमेरका दोषहरु थिए। केही छोरी भएकै कारण नगरेरै पनि देखिएका गल्तीहरु थिए। केही समाजले गरेका त केही
परिवारले ऊनीमाथि थोपरेका अरुका गल्तीहरु थिए। ती सबै जे थिए केवल उनलाई गलत शाबित गर्नको लागि जोडिएका बाँधहरु मात्र थिए।
कसैको बिगतले उसको भविस्यमा कति फरक पर्छ?
बहिनी कै कुरा गर्ने हो भने बिगतले मात्र उनको आज र भविस्यलाई निर्धारण गरेको छ। हिजो उनले बिगारेको पढाइ सङ्गसङ्गै अनेक गल्तीहरुले उनलाई आज आफ्नो आगामी लक्ष्य र योजनाबारे सोच्ने अधिकार पनि खोसिदिएको छ। उनीभन्दा अग्रजले बिगारेका कामहरुबाट डराएर उनले पनि कतै सोही गल्ती दोहोराउने हुन कि भनेर कुनै निर्णय गर्न दिइएको छैन। जे छन् अग्रजका कुरा सबै उनलाई नै थोपरिएको छ।
छोरीका अनेक समस्याको समाधान बिहे भएको हाम्रो समाजमा उनको पनि बिहे तय भइसकेको रहेछ। बाँकी पढाई, चाहना, लक्ष्य र सपना सबै बिहेले रोकिदिएको छ।
हिजोका गल्तीहरुलाई सुल्झाउने कुनै उपाय छैन तर ती गल्तीबाट सिकेका कुरा आगामी दिनमा अपनाउन पाउनु उनको अधिकारको बिषय हो। यसलाई कसैले रोक्नु हुँदैन। भनिन्छ, जिन्दगीमा पछाडी फर्किएर हेर्नू हुँदैन। तर जब फेरि सोही परिस्थितिहरु दोहोरिएकाे जस्तो महशुस हुन्छ तब बिगतलाई नियाल्नुपर्छ। त्यतिबेला गरेका गल्तीलाई यसपटक कुनै ठाउँ दिनुहुँदैन।
कुनै पनि बिगत त्यति गहिरो र बलवान् हुँदैन कि त्यसले तपाईंको नै भविस्य बिगार्न सकोस्।
क्यालिफोर्नियाकि प्रोफेसर जेनिफर लिम भन्नुहुन्छ:-" गल्ती नै तपाईंले प्रयास गरिरहनुभएको छ भन्ने कुराको प्रमाण हो।" जो व्यक्ति केही नयाँ गर्न चाहन्छ उसले गल्ती गर्छ। केही सिक्न चाहनेले गल्ती गर्छ। एकपटक गरिएको गल्ती दोस्रोपटक नयाँ सिकाइको अवसरको पाटो बन्ने गर्छ। त्यही परिस्थितिमा फरक उपाय अपनाउने आधार बन्छ। गल्ती नै सिकाइको सुरुवात हो। अनि सिकाई सफलताको प्रतिक हो।
आइन्स्टाइनले स्कुलको परिक्षामा जानेको प्रश्नको हल पनि गलत तरिकाले गरिरहेका थिए। एकपटक मात्रै होइन बारम्बार फरक तरिकाले प्रयास गरिरहे। अन्त्यमा शिक्षकले गरेको प्रश्नको जवाफमा उनले भने:- "जानिरहेका कुरासङै त्यहि बाटोको मात्र अनुशरण गर्दा कुरा कसरी बन्छ भन्ने मात्र सिकिन्छ । कुराहरु बिगार्दा तपाईंले यो बाटोमा किन सकिँदैन भन्ने कुरा जान्नुहुन्छ। मैले त्यसै गरेकाे हुँ।"
गल्तीको सामना नै गरिदैन भने सच्चाइलाई कसरी चिनिन्छ?
गल्ति गर्दै गर्दा तपाईंले फरक मोडमा फरक तरिकाले कुराहरु सिक्दै जानुहुन्छ। यदि तपाईंले केही सिक्दै हुनुहुन्छ भने तपाईं गलत कसरी हुनुहुन्छ?
कहि न कहिँ हरेक व्यक्तिले गल्ती गरिरहेको हुन्छ। तर जसले गल्ती गर्छ गल्तीलाई स्वीकार गर्न सिक्नुपर्ने हुन्छ। यदि त्यसो गर्न सकिएन भने सोही गल्ती बारम्बार दोहोरिन सक्छ।
एकपटकको गल्ती अन्जानमा हुन्छ। कुराहरुबारे राम्रोसँग ध्यान नदिँदा दोस्रोपटक गल्ती हुन जान्छ। बेमतलब र बेहकुफीको कारण पुन गल्ती तेस्रोपटक दोहोरिन्छ।
गल्ती गर्नु सबभन्दा ठूलो मुल्य चुकाउनु हो। गल्ती गरिन्छ भने त्यसको परिणामबाट भाग्न कहिले सकिँदैन। अत: बिगतको एउटा सानो गल्तीले गर्दा पछि आउने भविष्य र त्यसको परिणामलाई नजरअन्दाज गर्नु झन ठूलो गल्ती हुने गर्छ। तसर्थ गल्ती सफलताको अन्त्य होइन। यो जीवनको केवल एउटा अध्यायमात्र हो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको बिश्वास हो। आफुले आफुमा बिश्वास गर्न कहिले छोड्नुहुँदैन। डरसङ्ग डराएर होइन डरमा होमिएर मात्र सफलता मिल्नेछ।
गरेका गल्ती स्वीकार गर अनि सच्चाऊ। भविष्य उज्जवल छ ।
-लाईशा भुसाल (अक्षर )
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology