रुपन्देही । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धन दलले बिहीबार दाबी पेश गर्ने भएका छन् । गठबन्धन दलहरूले एक महिनाअघि नै नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेश गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि आव्हान गरेपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने ८ दलहरू सरकार गठनका लागि छलफलमा जुटेका हुन् ।
यो गठबन्धनमा प्रदेश सभामा रहेका नेपाली काङ्ग्रेसका २७, नेकपा माओवादीका १०, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३÷३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १÷१, स्वतन्त्र १ गरी ५३ जना छन् । ८७ सदस्यीय प्रदेशसभामा एमालेका २९ र राप्रपाका ३ सांसद मात्रै अब अलग हुने भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलहरूको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।
नेपाली काङ्ग्रेस प्रमुख सचेतक जन्मदेव तिमल्सेनाले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिनुभएको समय अवधिमै सरकारको दाबी पेश गर्ने गरि गठबन्धन दलहरू बिच तयारी गरिएको बताए । गठबन्धन दलहरू बिच सत्ताको भागवण्डाका विषयमा विभिन्न चरणमा छलफल भएपनि अहिले सम्म टुङ्गो लागि नसकेको जानकारी दिए।
प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले सरकार गठका लागि बिहीबार दाबी प्रस्तुत गरिने गठबन्धनमा रहेका सबै दलबिच सहमति भएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology