केही नयाँ सिक्नेहरुकै भिडमा एक फरक तत्व भित्रिन्छ । छिटो र छरितोको विश्वास, अझ भनौँ लालसामा त्यही फरक भन्दानभन्दै कतिबेला नमुनाको बन्देजमा अल्झिन्छ पत्तै हुँदैन । यो फरक, विश्वास, लालसा, नमुनासँगैको तीब्रतामा भेटिन्छ आधुनिकता । भलाइ हुँदाहुँदै पनि यही आधुनिकतामा बिक्रिति जोडिन्छ ।
बिरामी भएर घरमै सुतिरहेको पनि केही दिन भइसकेको थियो । घर बसिरहन पट्यार लागेर हावा खाने बहानामा म घर नजिकैको मन्दिरसम्म पुगेँ । त्यहाँ मानिसहरु मन्दिरको लागी कम तर मर्निङ / इभिनिङ वाकको लागी भन्दै धेरै आउने गर्थे । कोही ज्यान तन्काउदै थिए । कोही देश र राजनीतिका गुनासोहरु पोखिरहेका त कोही फगत साथीभाई, दिदीबहिनी, छरछिमेक र इष्टमित्रका दैनिकी केलाउँदै बसिरहेका थिए । केटाकेटीहरु पनि त्यही वरिपरी खेलिरहेका देखिन्थे । म भने सदाझैँ आफ्नै धुनमा मस्त थिएँ ।
“ऐले ........ (रेप) गर्दिन्छु अनि...”
एकाएक यो वाक्य सुनेर म बिथोलिएँ । यताउता हेरेँ । कोही अघिजस्तै आफ्नै कुरामा ब्यस्त देखिन्थे भने कोही म जस्तै चकित । आवाज केटाकेटीहरु भएतिरबाट आएको थियो । तर कसले भन्यो कसैले ठम्याउन सकिएन ।
यसैक्रममा बिर्सिसकेका बिगतका केही घटनाहरुले मलाई झक्झकाउन आइपुगे । बाहिर मौन भएपनि मनमा हलचल, छटपटी र अनौठो ब्यग्रताले सताउन थाल्यो ।
बिदाको समय मिलाएर म आफ्नो गाउँघर गएकी थिएँ । घर, आँगन सँगै मेरो बाल्यकाललाई प्रिय बनाएको ठाउँ अर्थात खर्यानसम्म पुगेँ । केटाकेटीहरु भाँडाकुटी खेल्दै रहेछन् । आफुलाई पनि त्यहाँकाे एक पात्र सम्झिँदै उनीहरु खेलको हेरिरहेँ ।
बाहिर उज्यालो भएपनि उनीहरुको कथामा रात परिसकेको थियो । सबैजना सुत्न थाले । त्यसपछिको दृश्यमा जे देखेँ, म तर्सिएँ । कथामा काकाकाकी बनेका उनीहरु साँच्चिकै श्रीमान श्रीमतीका क्रियाकलापहरु गर्दै थिए ।
“ के गरेको?” म चिच्चाएँ ।
“ भाडाकुटी खेलेको ।” उनीहरु सामान्य रुपमै बोले ।
“यस्तो कहाँबाट सिक्यौ? कसले सिकायो ?”
“ फिलिममा यस्तै त गर्छन् ।” उनीहरुको बोलीमा निर्दोषपन थियो । मानौँ उनीहरुले केही गल्ती नै गरेका थिएनन् ।
“ त्यस्तो हेर्न अनि गर्न दुबै हुन्न है । त्यो नराम्रो कुरा हो।” भन्दै सबैलाई खाजा खान घर पठाइदिएँ अनि म पनि घर फर्किएँ ।
योभन्दा बढी उनीहरु सम्झिने र मैले सम्झाउने स्थिति त्यहाँ थिएन। साँझपख उनीहरुको आमाबाबासँग केही गुनासोहरु राख्दै बच्चाहरुले के हेर्दैछन्? के सिक्दैछन्? भन्नेबारे निग्रानीको आवश्यकता भएको कुराहरु दर्शाएँ । उहाँहरुले त्यस विषयलाई कसरी लिनुभयो र सम्झाउनुभयो पछि कुरा गर्ने अवसर भने जुरेन।
भिडियो र सिनेमाको प्रभाबबारे कुरा गरिरहँदा यस्तै २०७२ सालको अर्को त्यो एउटा घटना कसरी बिर्सनु ? ठाउँको नाम भने अहिले बिर्सिएँ । दुइभाइ खेलीरहेको समयमा भाइले पेट दुख्यो भनेपछि अपरेसन गर्ने भन्दै पेट काट्दा भाइको मृत्यु भएको भन्ने समाचार सुनिएको थियो ।
समाजभित्र गुमनाम रहेर समाजमा धेरै प्रभाब पारिरहेका कथालाई दृश्यको आधारमा बाहिर प्रस्तुत गर्न सक्नु निकै राम्रो पक्ष हो । तर ती सामाजिक समस्याहरुलाई खुला रुपमै देखाउँदा कतै ती समस्याहरुले झन समस्या भित्राउने नयाँ उपायहरु सृजना गरिरहेका त छैनन् ?
अपराधिक दृश्य, काटमार , गोली प्रहार, बलात्कार लगायत अन्य सामाजिक कुरितीहरुलाई पर्दामा हुबहु देखाइरहँदा बालमष्तिस्कमा नराम्रो असर परिरहेको हुन्छ ।
“फिल्महलमा उमेर तोकेर राखिएको हुन्छ नि” भन्नुहुन्छ होला तर टेलिभिजन र युटुब त बच्चाहरुको अभिन्न अङ्ग जस्तै बनिसकेको छ । अनि त्यस्ता गीतहरु बसदेखि खाजाघर सबैतिर बज्छन् । बच्चाले कसरी हेर्दैन भन्नु ?
बालापन नै एउटा यस्तो समय हो जहाँ बच्चाले देखेको र सुनेकै भरमा कुराहरुलाई गहिरिएर लिने गर्छन् । उनीहरुमा सहि र गलत छुट्याउन सक्ने क्षमता हुँदैन । यद्यपि यस विषयमा कसैले हेक्का राखेको जस्तो भने देखिँदैन ।
पछिल्लो समयलाई नै नियाल्ने हो भने हत्या र आत्महत्याका हजारौँ घटनाहरु बारे धेरै समाचार सुनियो कति त आफैले पनि देखियो ।
कुन केमिकलको प्रयोग कसरी गर्दा व्यक्तिको मृत्यु हुन्छ ? शरीरको कुन अङ्गमा गरिएको प्रहारको प्रभाब कस्तो हुन्छ ?
भिडियोमा सबै बिस्तृत रुपमा देखाइरहेको हुन्छ । त्यस्तै नयाँ अनेक बिधिहरु थप्दै 'आत्महत्या गर्नु हुँदैन' भन्ने भिडियोहरु पनि बनेका हुन्छन् । ती भिडियोले कतै आत्महत्याको रोकथाम भन्दा पनि आत्महत्या गर्ने उपाय बताइरहेका त छैनन् ?
मोडलिङको नाममा मोडल शब्द उच्चारण गर्न समेत तोते बोली ननिखारिएका बच्चालाई अहिले च्याउ जस्तै उम्रिरहेका ब्युटी पेजेन्टमा सहभागी गराउनु लगायत टिकटकमा भाइरल बनाउने होडबाजी चलिरहेको देखिन्छ । यसले बच्चाको भविस्यलाई कस्तो बाटो देखाइरहेको छ?
नायक नायिकाले मादकपदार्थ र सुर्तीजन्य वस्तुहरु प्रयोग गर्दा स्वास्थ्यको लागी हानीकारक भनेर लेखेको त हुन्छ तर भिडियो हेर्दा मानिसहरु त्यहाँको लेखाई भन्दा पनि पात्रमा नै डुबिरहेका हुन्छन् । त्यो लेखाई कत्तिको प्रभावकारी हुन्छ?
कमेडीको नाममा कसैको कमजोरीमाथी प्रहार गरिरहेको देखिन्छ । जसले गर्दा बच्चाहरुलाई कमजोरी र रोस्टीङ/कमेडी रमाइलोको पाटो बनिरहेको पाइन्छ । कमजोरी सबैमा हुन्छ । सबैकुरामा सक्षम कोही हुँदैन । तर यो रमाइलोले समाजलाई कता डोहोर्याइरहेछ ?
“सर्जकले पात्रका रुपमा सिर्जना गरेको मात्रै त हो । कति सोचेको ? सकारात्मक तरिकाले पो लिनुपर्छ । नकारात्मक लिनेलाई के गर्न सकिन्छ र?” भन्ने जवाफ धेरैजनाले दिनुभयो ।
तर सकारात्मक सोच्नेले त त्यस्तो गल्ति नै गर्दैन नि । नजानेको र नबुझेकोलाई सिकाउनुपर्ने होइन र ? उनीहरुकै निम्ति सन्देशमुलक सिनेमा र बिज्ञापनहरु पनि बनेको होइन र ?
सिनेमा बनाउनु गलत होइन। सिनेमाले व्यक्तिलाई मानसिक रुपमा पनि निकै मद्दत पुर्याइरहेको हुन्छ । अमेरिकाको ओक्लाहोमा विश्वविद्यालयका मनोबैज्ञानिकले काल्पनिक नाटक र भावनासँगको सम्बन्धबारे अध्ययन गरेका थिए । अध्ययनकै आधारमा भन्ने हो भनेपनि सिनेमा हेर्ने मानिसको भावनात्मक बौद्धिकतामा सहजै बृद्धि भएको पाइएको थियो ।
प्राय मानिसको जीवनमा कति यस्ता किस्साहरु हुन्छन् जुन चाहेर पनि कसैसामु ब्यक्त गर्न सक्दैनन् । तर सिनेमा र म्युजिक भिडियोले क्याथर्सिसको ( मनोबैज्ञानिक राहतको ) काम गर्दै उनका यथार्थ बोलिदिन्छन् । हाँस्न नसकेका खुसीहरु र रसाउन नसकेका आँसुहरु बहने बाटो बनिदिन्छन् । तसर्थ सिनेमामा प्रयोग हुने दृश्यहरुलाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुरा निकै नै महत्वपुर्ण विषय हो । सन्देश फैलाउन बनेका सिनेमामा, हुबहु दृश्य देखाउनु भन्दा भोगिएका कथाको आशयलाई प्राथमिकतामा राख्नाले गीत, सिनेमा र विज्ञापनले दिन खोजेको सही सन्देश प्रस्फुटन हुने प्रबल सम्भावना देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology