रुद्रहरि कुँवर, बुटवल । पाल्पा आफैमा पर्यटकीय क्षेत्र । यहाँको प्राकृतिक मनोरम दृश्य र ऐतिहासिक र धार्मिक पर्यटकीय क्षेत्रले सबैको मन लोभ्याउँछ । तराईको फाटबाट उक्लीनेहरुको लागि पाल्पाको प्रवेशद्वार सिद्धबाबा धाम धार्मिक पर्यटकीय क्षेत्र हो । यही क्षेत्रमा हो आदी मानव रामापिथेकसको बङ्गारा भेटिएको ।
तिनाउ नदीको कलकल आवाजसँगै यात्रा शुरु हुन्छ पाल्पाको । निला रह, झरना आदीले एउटा अजङ्गको पहाड कटेको पत्तै हुदैन । श्रीनगर, रानीमहल, भैरवस्थान, रम्भादेवी मन्दिर, रिडी ऋषिकेश मन्दिर मात्र पाल्पाका पर्यटकीय गहना होइनन् । त्यहाँ भित्र लुकेको धेरै पर्यटकीय स्थल छन पाल्पामा । लुकेका पर्यटकीय क्षेत्र मध्ये पाल्पाको रिब्दीकोट आफैमा पर्यटकीय क्षेत्र हो । जुन ऐतिहासिक तथा धार्मिक दृष्टिकोणबाट निकै महत्वपूर्ण छ । यसको उजागर गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न रिब्दीकोटको सूक्ष्मा अध्ययनको सुरुवात गरिएको छ ।

रिब्दीकोट एकीकृत विकास परियोजना नै सञ्चालन गर्ने गरी त्यहाँको पर्यटन प्रवर्द्धनकालागी अध्ययन गरिएको हो । मगरात गण राज्यको अन्त्य र सेन राज्यको उद्गम स्थलको रुपमा रिब्दीकोटलाई ऐतिहासिक महत्वको दृष्टिले पनि पर्यटकीय क्षेत्रको रुपमा हेरिन्छ । रिब्दीकोट गाउँपालिका वडा नं ५ कुसुमखोलामा रहेको जलेश्वर धाम, रिब्दीकोट मन्दिर, वडा नं ७ बतासेमा रहेको कालिका मन्दिर धार्मीक पर्यटकीय स्थलको रुपमा प्रख्यात छन ।
रिब्दीकोटको धार्मिक, पुरातात्विक, एवं ऐतिहासिक क्षेत्रलाई समेटेर एकीकृत परियोजना सञ्चालनको तयारी गरिएको त्यस क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले बताए । ‘रिब्दीकोट धार्मिक, ऐतिहासिक हिसाबले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने पर्यटकीय स्थल हो । यसको एकिकृत विकासको लागि परियोजना सञ्चालनको क्रममा छौं ।’ उनले भने – ‘यही आर्थिक वर्ष देखी नै डिपिआरको कार्यप्रारम्भ शुरु हुन्छ ।’
भारतमा मुगलहरूको आक्रमण सहन नसकी तुथारय सेनले पैयागबाट धपिएर बुटवलको बाटो हुँदै रिसिङ साविकको फेक गाविस वडा नं ४ मा लामो समय सम्म बसी पछि रिब्दीकोट (साविकको कुसुमखोला, पालुङमैनादी र ठिमुरे गाविसको सांध)मा आफ्नो स्वतन्त्र राज्य स्थापना गरेका थिए । तानसेन आउनु अघि सेन वंशीय राजाहरु शिलाङ थोकको नजिक पुरन कोटमा राजधानी बनाई शासन गरेको इतिहासमा पाइन्छ । विं सं १३६३ मा तुथारय सेनदेखि प्रारम्भ भई चन्द्र सेनका छोरा पाल्पा राज्यका संस्थापक मानिने सेन वंशका दशौँ पुस्ताका राजा रुद्र सेनले १५६३ सालमा पाल्पा राज्यको स्थापना गरेका थिए ।
कुमुद सेन प्रथमको नेतृत्वमा पाल्पाले काठमाडौं, धनकुटा, भोजपुर सम्म राज्य विस्तार गरेको पाइन्छ । चौबिसे राज्य मध्ये पाल्पा राज्य निकै शक्तिशाली राज्य थियो । झण्डै ४९८ वर्ष सम्म शासन गर्ने पाल्पाली सेन राजाहरु मध्ये पछिल्ला पृथ्वीपाल सेनको पालामा बहादुर शाह र भिमसेन थापाको चतुराइले पाल्पा राज्य विं सं १८६१ मा नेपाल राज्यमा गाभिएको थियो । पाल्पाली सेन राजवंशको इतिहासमा पार्कोटे मगर राजाको प्रसङ्ग जोडिएर आएको देखिन्छ । तर पार्कोटे मगर राजा र उनको राज्यका बारेमा जानकारी दिने आधिकारिक लिखित प्रमाणहरूको भने अभाव रहेको छ । इतिहासकारहरूले पार्कोटे मगर राजालाई पाल्पाका शक्तिशाली राजा मुकुन्द सेनको ससुराका रुपमा चर्चा गरेको पाइन्छ । त्यसैकारण सेन राजाहरूको चर्चा हुँदा पार्कोटे मगर राजाको पनि उल्लेख हुने गरेको छ । पाल्पामा मगर राजाहरुले शासन गरेका थिए भन्ने अर्का गतिलो प्रमाण हो बलिहाङ राजा। उनी मगर जातिका हुन । इशाको १४औँ शताब्दीतिर साविकको बल्ढयाङ गढी गाविसमा बलिहाङ रानामगरले ससाना मगर राज्यलाई एकीकरण गरी शक्तिशाली मगर राज्यको स्थापना गरेको इतिहास छ ।
उनको राज्य वर्तमान नेपालको मगरातदेखि भारतको गोरखासम्म फैलिएको मानिन्छ । पाल्पाको रिब्दीकोट क्षेत्रमा सेन वंशीय राजाको आगमन पूर्व मगर राजाहरूले शासन गरेको तथ्यले पुष्टि गर्दछ । मगर गणराज्यको समाप्ति सेन राजाको उदय भएको ऐतिहासिक क्षेत्र रिब्दीकोट क्षेत्र भएकाले पनि यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सभामुख तुलाराम घर्ती मगर बताउँछन्। समुन्द्री सतहदेखि २१ सय मिटर उचाइमा रहेको रिब्दीकोट मन्दिरबाट भारतको गोरखपुरसम्म देख्न सकिने स्थानीय बताउँछन । उनीहरूका अनुसार जल तथा मौसम विज्ञान विभागले सञ्चालन गरेको टावरबाट नेपालको २२ जिल्ला देख्न सकिन्छ ।
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की रिब्दीकोटको प्राकृतीक श्रोत र साधनको उपयोग गरी समृद्ध पालिका बनाउने अभियानमा छन् । धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रको विकास गरी पर्यटन प्रवर्द्धनबाट पालिकाको आर्थिक समृद्ध गर्न सकिने प्रचुर सम्भावना रहेको उनले बताए । ‘ सभामुख ज्यूले चासो दिई आफै लाग्नु भएको छ । संघ, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी काम अघि बढाउन खोजेका छौ ।’ उनले भने । परियोजनाको लागी नारा समेत तय भई सकेको छ – “प्राकृतीक श्रोत र साधनको संहार, समृद्ध रिब्दीकोटको आधार ।” प्राकृतिक, सामाजिक, धार्मिक एवं जैविक विविधताका कारण यस क्षेत्रमा पर्यटनको सम्भावना प्रचुर रहेको छ । रिब्दीकोटमा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने स्थलहरू धेरै छन ।
जलेश्वर मन्दिर धाममा १ सय ८ धारा छन । मुस्ताङको मुक्तिनाथ धामबाट जल ल्याई अर्पण गरेमा पुण्य पाइने धार्मिक मान्यताका आधारमा यहाँ तीर्थालु भक्तजनको दैनिक सयौँको सङ्ख्यामा आगमन हुने धामका पुजारी अमर पुरीले बताए। जलेश्वर मन्दिर निकै पुरानो धाम हो । मन्दिरको माथिल्लो भागमा जडिबुटी युक्त जङ्गल रहेको छ । पहाडी थुम्काहरूको उपस्थितले यो निकै मनमोहक छ । पहाडको खोजमा प्राकृतिक ताल निर्माण गर्ने लक्ष्य लिइएको छ । सेन वंशले राज्य गरेको स्थानमा सेन वंशीय दरवार र मगर गणराज्यको दरवार निर्माण गरी पर्यटकलाई लोभ्याउन सकिने पालिकाका अध्यक्ष कार्कीले बताए । त्यसैगरी कालिगढी क्षेत्रमा विपसना ध्यान केन्द्र निर्माण गर्ने लक्ष्य लिइएको छ ।
पर्यटकलाई जङ्गल सफारीको व्यवस्था गर्ने, गाउँ वस्तीको ठाउँ ठाउँमा होमस्टे सञ्चालन गर्ने योजना रहेको छ । स्थानीय उत्पादन प्रवर्द्धन गरि पर्यटकलाई अर्ग्यानिक खानेकुरा खुवाउन सकिने छ । रिब्दीकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने भएकाले ५ वर्षमा आन्तरिक तथा वाह्य पर्यटकको रोजाईको केन्द्र बनाउने गरी कार्य अघि बढाउने योजना बनाइएको छ । रिब्दीकोटलाई पाल्पाको अन्य पर्यटकीय स्थलसँगै पनि जोड्ने गरी गुरुयोजना बनाइदै छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology