ग्रीष्ममा पातहरु झरेपछि बसन्तमा बोट नै ढाकिने गरि पालुवा पलाउनु आष्चर्य होइन तर जीवनमा चलिरहेका अनेक गलत अभ्यासलाई निरन्तरता दिइरहनु आश्चर्यजनक कुरा हो। यस विषयमा न हिजो मानिसहरु अशिक्षित हुँदा केही नयाँ सोचियो न त आज हरकहिँ शिक्षाका अनेक परिभाषा र विश्लेषण गुन्जिरहदा नै केही भिन्नता पाइयो ।
बुटवलको गर्मीमा जसोतसो दिन घर भित्रै बिताएपनि साँझपख भने यसो नडुली मन नै नमान्ने भइसकेको थियो। हिजो पनि त्यसै गरि घर नजिकैको दिदी र म उहाँको अफिसको स्टाफहरुसङ्ग भेट्ने भन्दै निस्कियौँ। त्याे हाम्रो पहिलो भेट थियो तर पनि कुनै अफ्ट्यारो महशुस भने भएन। कुरा चल्दै थियो। चियाको घुट्किसङ्गै दिदी बोल्नुभयो "यो रिसेप्सनिस्टको जागिरले पनि दिक्कै भैसकेँ म त। यसो अन्तै केही गर्न पाएपनी हुने नि ।"
"झन त्यहीँ त मोज छ। हामीले पो पाउँदैनौँ नत्र मै गर्छु, तिमी मेरो ठाउँमा आउ भन्ने थिएँ । " दिक्षान्त दाई बोल्नुभयो ।
"राख्दैन ? किन नि?" मलाई कुरा अलि चित्त बुझेन अनि बोलिहालेँ ।
"दिँदैन नि। कहाँ फ्रन्ट डेस्कमा केटालाई राख्छन त। राम्री राम्री नानीलाई राख्नु पर्यो नि "
साँच्चिकै मैले रिसेप्सनमा पुरुषलाई राखेको कतै पनि देखेकी थिइन। फेरि सम्झिएँ एकवर्ष पहिले रहरै रहरमा एउटा अफिसमा काउन्सिलर पदको लागी अन्तरवार्तामा गएकी थिएँ । मसङ्गै गएको बहिनी रिसेप्सनिस्ट कै लागि भनेर गएकी रहेछिन् । प्रश्न गरिरहँदा त्यहाँको म्यानेजरले "रिसेप्सनिस्ट हुन त ब्युटिफुल....." भन्दा भन्दै रोकिएर ब्युटिफुल भोइस र टकिङ सेन्स हुनुपर्छ भनेका थिए। कतै उनले पनि ब्युटिफुल फेस भन्न नमिलेर कुरा घुमाएका त थिएनन् ? मेरो मनमा चिसो पस्यो।
बोल्ने व्यबहारले कामको शिलशिलामा महत्व राख्नु स्वभाविक हाे तर रुपरङ्गलाई प्राथमिकतामा राख्नु कत्तिको शान्दर्भिक कुरा हो?
निहारिका दिदि एउटा ठुलै संस्थामा कार्यरत हुनुहुन्छ। अलिअस्ति धेरै पछि उहाँसङ्ग भेट्ने अवसर मिल्यो । कुराकानी चलिरहेको थियो । कुरैकुरामा जागीरसङ्गैको सन्तुष्टिबारे कुरा चल्यो। उहाँ भन्नुहुन्छ " तर महिला जतिसुकै अगाडी पुग्न र पुराउन खोजेपनि हाम्रो समाजमा अझै पनि कस्तो नराम्रो गरि हेर्ने है? कस्तो हेप्ने प्रवृत्ति ..."
"किन के भयो र?"
"हाम्रो अफिसको बोस एक महिला हुनुहुन्छ तर उहाँले भनेको कुरामा क्लाइन्ट र स्टाफ सबैको व्यबहार कस्तो अर्कै हुन्छ। उहाँ स्ट्रीक्ट पनि हुनुहुन्छ। गरेका कामहरु पनि निकै फलदायी भएका हुन्छन् । तर पनि कस्तो हेपाइको प्रवृत्ति छ। अनि एकपटक त दुव्र्यवहारमा पनि पर्नुभएछ।"
यस्ता घटना केवल केही उदाहरण मात्र हुन्। बाँकी यथार्थहरु कति त समेटेरै पनि समेट्न नसकिने खालका हुन्छन् ।
नेपालको सन्दर्भमा साँच्चिकै हेर्ने हो भनेपनि कति धेरै पद र प्रकारहरु हुन्छन् तर प्राय उच्च ओहोदामा पुरुष मात्रै भेटिन्छन्। किन? कानुनमा उल्लेख गरे बमोजिम महिलाहरुले पनि जागिर गर्न पाएका छन् । तर रिसेप्सनिस्टबाट सुरु हुने पदमा महिलाहरु मात्र भेटिन्छन् । उच्च ओहोदामा महिलाको संख्या किन न्यून छ ?
मेयरमा पुरुष उप-मा महिला, प्रीन्सिपलमा पुरुष उप-मा महिला यस्तै यस्तै....
अघि दिक्षान्त दाईले भनेको जस्तै साँच्चिकै पुरुषहरुलाई पनि त रिसेप्सनिस्टको काम गर्न इक्ष्या हुँदो हो तर यो बिषयमा कहिले किन सोचिँदैन?
एकैपटक नियुक्ति हासिल गरेका एक पुरुष र महिला कुनै संस्थामा आबद्ध हुन जान्छन् भने पद बिभाजन गर्ने क्रममा महिलालाई निसंदेह फ्रन्ट डेस्कमा र पुरुषलाई कतै अफिसरको रुपमा किन जोडिन्छ?
जागीरको लागि रिक्तता खुलाउदा लेखा शाखाको लागि पुरुष र रिसेप्सनिस्टको लागि एकजना महिलाको आवश्यकता भन्ने त सामान्य भइ नै सक्यो। तर यो पनि एकपटक सोच्नुपर्ने विषय होइन र?
पढाई र सीप दुबैको एउटै हुँदाहुँदै पनि पदमा भिन्नता किन?
अनि पदसङ्गै आउने तलबमा अन्तर किन?
दुबैले पढ्दा र सिक्दा लागेको खर्च एउटै होइन र?
दुबैको शिक्षा एउटै होइन र?
कसैको यथार्थ नबुझी कोहि ब्यक्तिलाई उसको बारेमा आकलन गर्ने अधिकार कसैको पनि हुँदैन। तर महिलामाथी आकलन गर्ने त मानौँ जीवनको कुनै हिस्सा नै हो जसरी लिने गरिन्छ। त्यसमाथी पढेलेखेकी महिला केही गर्छु भनेर अगि बढ्न खोज्यो, उसको साथ दिनु त परको कुरा उल्टै खुट्टा तान्ने प्रवृत्ति तीब्र रुपमा फैलिएको देखिन्छ।
कार्यकै शिलशिलामा कुनै महिला उच्च ओहोदासम्म पुगिहाल्यो भने पनि उसको चरित्रमाथि नै नराम्रो तीर चलाइन्छ।
"पक्कै पनि बोससङ्ग लसपस चलेको हुन सक्छ।"
"आजकल म्याडम त ....."
यस्तै यस्तै ...
यी कुरा खासै नौला बिषय होइनन् । र पुरानो बनाउन कहिले व्यबहारमा परिवर्तन अपनाइनै सक्दैनन् ।
अस्ति भर्खरै कन्चनपुरकी एकजना महिला पत्रकारको लेख पढेकी थिएँ । उहाँले आफुले काम गर्नेक्रममा कार्यक्षेत्रमा भोगेका अनेक दुव्र्यवहारबारे उल्लेख गर्नुभएको थियो। उहाँ एक उदाहरण मात्रै हो। यस्ता घटना दिनहुँ घट्छन् । कसले ? कहिले? कसरी ? व्यक्त गर्छ भन्ने मात्रै फरक कुरा हो। महिला हिंसाको कुरा सामान्य बनिसकेको छ । तर त्यसले महिलामा परिरहेका प्रभावहरु भने समयसङ्गै झन् असामान्य बनिरहेका छन् । हरेक ठाउँमा डर र संकोच लिएर हिड्नुपर्ने बाध्यता सृजना भएको छ।
सधैँ पुस्तकमा पढाइने र भासणमा फुकिने समानता कहाँ छ?
मैले यस्तो कुरा गरिरहँदा पुरुष मित्र लगायत अग्रजहरुले "महिलामा त्यो अग्रणी क्षमता नै हुँदैन भन्दै स्कुटर चलाउदा नबज्ने हर्न र इन्डिकेटरको कुरा जोड्नुभयो" उसो त पुरुषका पनि त कति कमजोरि हुन्छन् । बाइक कै कुरा गर्दा दायाँ इन्डिकेटर बालेर बायाँ मोड्नेहरु नभेटेको नदेखेको होइन तर यहाँ कुरा गल्तिको तुलनाको होइन । अवसरको हो।
गल्ती सबैबाट हुन्छ । मेसिनले त घरी घरी बिगारिरहेको हुन्छ भने हामी त झन मान्छे हौँ। समाजका कथित सर्वश्रेष्ठ प्राणी हौँ । कोहि एकजनाले एकठाउँमा एकदिन गरिएको गल्ती सबैको गल्ती हुँदैन ; सधैंको गल्ती हुँदैन ।
घर व्यबहार कै कुरा गर्ने हो भने पनि कहिले काम नगरेका महिलाहरु अचानक आफुमा जिम्मेवारीको भारी थपिएपछी केहि दिनमै सबै सम्हाल्न सक्ने गरि निपुर्ण हुन्छन् । परि आएको खण्डमा कुनै शिक्षित महिलाले हजुरले कामकै बारेमा लिन नसकेको राय र निर्णयलाई सहि मार्ग देखाउन सक्छिन्।
एकपटक अपनाएर हेर्नुहोस् । पछुतो पक्कै हुने छैन। अवसरको कुरा हो एक असल र शिक्षित महिलामा आर्थिक र ब्यबहारिक दुबै पक्षलाई सहि ढङ्गमा अगि बढाउन सक्ने क्षमता हुन्छ।
एकपटक महिलालाई महिला नसोची एक मानिस मात्रै भनी चिनेर हेरौँ न। पढाई, ज्ञान र शिप सबै समान छ समान रुपले अगि बढ्न सक्ने केही विधि रोजौँ न। जन्मिदै कसैले सिकेर आएको त हुँदैन तर आफुले सिकेका कुराहरु कोहि महिलाले सिक्न खोज्दैछ। केही अगि बढ्ने प्रयत्न गरेको छ भने त्यसको फाइदा उठाएर नजिक हुने , बोल्ने र सिकाउने बहानामा ब्यक्तिगत कुरा होइन । उनिहरुले काम कै कुरा गरेर साथ खोजिरहेका हुन्छन् । साथित्वको नाता जोड्दै त्यसबेलामा उसको बिगत र बोइफ्रेन्डबारे प्रश्न गर्नुभन्दा उसका आइडिया, योजना, सपना र भविष्यबारे कुरा गरिदेउ न।
रुपरङ्गको प्रशंशा छोडेर बिचारका कुरा जोडौँ न। ३०-६० वर्षे जवानीमा बहकिँदै कथित प्रेम प्रस्ताब होइन व्यावसायिक केही प्रस्ताव राखौँ न।
यौनका कुरा कहिले मजाक हुदैनन् । मजाकको संज्ञा दिएर आफुले गल्ती गरेको पत्तै नपाए जसरि कुराको बिचबिचमा यौनिक कुरा जोड्ने र महिलालाई बोल्नै असहज गराउने प्रवृत्तिलाई हटाएर बिचार विमर्शका कुरालाई प्राथमिकतामा राखेर एक कदम अगि बढेर हेरौँ न।
तसर्थ जीन्दगी छोटो हुँदाहुँदै पनि निकै लामो छ। यस यात्रामा धेरै होइन आधा दशक मात्र भएपनी माथि उल्लेख केही कुराहरु अपनाएर अगि बढ्न सकियो भने पक्कै पनि भिन्नता भेटिनेछ। समानताको नयाँ इतिहास रचिनेछ। प्रयास गरौँ यदि भेटिएनछ भने अहिले समानताको बिषयमा पानामा जे जस्तो पढिरहेका छाैँ त्यो कुरै मेटिदिउँला। नयाँ रच्ने होइन रटेका कुरा पनि बिर्सिदिउँला। डाँडाँमा बसेर हुँदैन र सकिँदैन भन्नुभन्दा एकपटक मैदानमा उत्रीएर अनुभव बटुल्ने हो कि?
लेखक लाईशा भुसाल सेतोमसीको नियमित स्तम्भकार हुन। 'अक्षर' स्तम्भमा उनी समसामयिक विषयमा लेख्ने गर्छिन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology