काठमाडौं । आगामी आर्थिक वर्षको बजेट आज घोषणा हुँदैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् । सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि अधिकतम १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको अवस्था छ । अहिलेको स्थितिमा सोही सीमाभित्र रहेरै बजेट ल्याउनु सान्दर्भिक र व्यावहारिक देखिएको बजेट निर्माण टिमका एक सदस्यले जानकारी दिए ।
‘मूलभूत रूपमा आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउनुपर्छ र कुन पक्षलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ भन्ने विषयमा गम्भीर छलफल र तयारी भएको छ । अहिलेको स्थिति र व्यावहारिक पक्षलाई मनन गर्दै राष्ट्रिय योजना आयोगले दिएको सीमाभन्दा माथि गएर बजेट ल्याउन हुँदैन भन्ने नै छ । आगामी आर्थिक वर्षको बजेट १७ खर्ब हाराहारीकै आउँछ,’ स्रोतले भन्यो
बजेटले पुँजीगत (विकास खर्च)लाई विशेष प्राथमिकता राख्दै चालु खर्च कसरी कम गर्न सकिन्छ भनेर व्यापक खर्च कटौती तथा मितव्ययिता अपनाइएको स्रोतले बतायो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology