राजनीतिलाई पैसा कमाउने माध्यम बनाउनुहुन्न भन्ने दृढ मान्यताका कारण पनि राजनीतिक वा व्यावसायिक लाभ लिनेगरी कुनै सङ्गठनमा लाग्नुपर्ने आवश्यकता महसुस गर्नु भएन । समाजका हरेक पक्षको समानान्तर विकास बिना समग्र देशको विकास सम्भव छैन । समाजका हरेक साना देखि ठूला एकाइ सम्म इमानदार, कर्तव्यनिष्ठ र निःस्वार्थ भावनाले काम गर्ने नेतृत्व नहुँदासम्म देशको मूलधारको राजनीतिक संस्कार सुध्रिँदैन ।
हाम्रो समाजका हरेक अङ्ग र आयाममा मूलराजनीतिको हस्तक्षेप र प्रभाव भएको अवस्था छ । स्थानीय तहका विद्यालय व्यवस्थापन समितिमा होस् वा कुलाधारा निर्माण होस् राजनीतिक आस्थाका आधारमा सङ्गठन र व्यवस्थापन मात्र गरिँदैन त्यसमार्फत गरिने अनियमितता र भ्रष्टाचारलाई समेत यही राजनीतिकै आवरणमा दबाइन्छ ।
वकिलदेखि पत्रकारको संगठन होस् या शिक्षक, विद्यार्थी ,अभिभावक र डाक्टरहरुको संगठन, पेसागत हकहित भन्दा पनि मूल राजनीतिक नेतृत्वकै इसारामा चलेका छन् । कर्मचारीको ट्रेड युनियन होस् या न्यायमूर्तिहरु नियुक्त गर्ने न्यायपरिषद् नै किन नहोस् जताततै राजनीतिक सिन्डिकेटको प्रभुत्व कायम भएको छ ।
वकिलदेखि पत्रकारको संगठन होस् या शिक्षक, विद्यार्थी ,अभिभावक र डाक्टरहरुको संगठन, पेसागत हकहित भन्दा पनि मूल राजनीतिक नेतृत्वकै इसारामा चलेका छन् । कर्मचारीको ट्रेड युनियन होस् या न्यायमूर्तिहरु नियुक्त गर्ने न्यायपरिषद् नै किन नहोस् जताततै राजनीतिक सिन्डिकेटको प्रभुत्व कायम भएको छ । समाजका सबैजसो निकाय र एकाइहरुमा अस्तव्यस्त राजनीतीकरणले आम मानिसमा तीव्र निराशा समेत उत्पन्न गराएको अवस्था छ ।
राज्यका सेवा वितरण गर्ने संरचनाहरु प्रत्येक दिन शिथिल बन्दै गर्दा सेवाग्राही नागरिकमा वितृष्णा र विद्रोहको भावना बढ्दै गएको छ । मालपोत, यातायात होस् वा जिल्ला प्रशासन कार्यालय नै किन नहोस् भ्रष्टाचार र बेथितिले भरिएका छन् । सामान्य नागरिकले सहज रूपमा लिनसक्ने सेवा समेत दलाल नलगाई लिन सकिने अवस्था छैन ।उद्यमी र नवप्रर्वतनमा काम गर्ने युवाले राज्यको संरक्षण नपाउँदा पलायनको अवस्थामा छन् भने दलाल पुँजीपतिहरुले राज्यसत्ता र नेताको परिक्रमा गरेर अनुचित लाभ लिनेक्रम बढ्दै गएको छ ।
त्यसैगरी एउटा निरीह नागरिक दुई मुख जोड्न खाडी मुलुक भासिनुपर्ने बाध्यता सिर्जना मात्र भएको छैन, सामान्यीकरण नै भइसकेको दर्दनाक अवस्था हामीमाझ छ । राजनीतिक वाद, दर्शन वा तन्त्रका नाममा दशकौँदेखि अस्थिर बनाइएको राजनीतिले जनताको न्यूनतम आवश्यकता र सुरक्षाको प्रबन्ध गर्नु त टाढै जाओस् सामान्य सुशासनको छनकसमेत कथित अग्रगामी दलहरुले दिनसकेका छैनन। सत्ताको सिँढी चढ्न भ्रष्ट नेताहरुले निर्माण गरेको भ्रष्ट सङ्गठनले सामाजिक न्याय र समतामूलक समृद्धिको सपनालाई एउटा मीठो सपना बनाइदिएको छ ।
राज्यले दिनुपर्ने न्यूनतम शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवामा समेत हुनेखाने र निम्न आय भएका वर्गबीच ठूलो खाडल छ । यसले निम्त्याएको असमानताले नागरिक तहमा राज्यको विभेदकारी चरित्र छताछुल्ल भएको छ । पैसा हुनेले महँगा अस्पतालमा उपचार गराउने तर पैसा नहुनेले सामान्य उपचार समेत नपाएर मृत्युवरण गर्नुपर्ने टिठलाग्दो चित्र हामीमाझ रहेको छ । यो सबै हेरिरहँदा र भोगिरहँदा मेरा चेतनाहरुले म भित्र विद्रोह सिर्जना गर्यो । आफू मात्र बन्ने तर समाजलाई हरेक दिन उस्तै अस्थिर राखिरहने पुरातनवादी राजनीतिक संस्कारमाथि धावा बोल्दै राजनीतिमा पनि नवप्रवर्तनको आवश्यकता भएको बोध गर्दै वैकिल्पक राजनीतिक ध्रुवमा ध्रुवीकृत हुनुको विकल्प छैन।
पुराना दलहरुले समयक्रम संगै समाजमा ठूलो प्रभुत्व निर्माण गरिसकेका छन् । कार्यकर्ता उत्पादन र प्रयोग गर्ने तर उनीहरुलाई उद्यमशील र श्रमशील नबनाउने वा बनाउन नसक्ने टिठ लाग्दो अवस्थाबाट हाम्रो राजनीति गुज्रिरहेको छ । कार्यकर्ताको प्रयोग र परिचालन मार्फत समाजलाई उत्पादनशील र सिर्जनात्मक बनाउनुको साटो अस्थिरता र आन्दोलन गराउन मात्र प्रयोग गर्ने तथा राजनीतिक सिँढीका रूपमा मात्र युवा र आम कार्यकर्तालाई प्रयोग गरी उनीहरुको सपनालाई दोहन गरिँदैछ । जसले गर्दा समाजमा रोजगारी र उद्यमशीलताको साटो राजनीतिक अस्थिरताको मात्र प्रवद्र्धन बढ्दै गएको छ ।
राजनीतिक वाद, दर्शन वा तन्त्रका नाममा दशकौँदेखि अस्थिर बनाइएको राजनीतिले जनताको न्यूनतम आवश्यकता र सुरक्षाको प्रबन्ध गर्नु त टाढै जाओस् सामान्य सुशासनको छनकसमेत कथित अग्रगामी दलहरुले दिनसकेका छैनन ।
एकातिर झण्डा बोकेका आधारमा राजनीति र सत्तामार्फत अनुचित लाभ लिने दलाल वर्गको बोलवाला बढेको बढ्यै छ अर्कोतिर कार्यकर्ताको बलमा नेता र शासक बनेका राजनीतिकर्मीले कालान्तरमा नातावाद, कृपावाद र भनसुनवादलाई यति प्रोत्साहन दिएको छकि राज्यको कुनै सामान्य काम गर्न गराउन पनि राजनीतिकर्मीको सिफारिस चाहिने अनिवार्य अवस्था बनेको छ । सभ्य समाजका निम्ति योभन्दा दुःखद अवस्था अरु केही हुनैसक्दैन ।
दसकौंदेखि जारी राजनीतिक स्वतन्त्रताको आन्दोलन हरेक दशकमा गर्नुपर्ने अवस्था आएको छ । लोकतान्त्रिक जगमै प्रधानमन्त्री बनेका केपी ओलीजस्ता नेतालाई यही विकृत राजनीतिले तानाशाह बनाएको छ । आफ्नो पार्टी र नेताका हरेक निर्णयलाई आँखा चिम्लेर स्वागत गर्ने अराजनीतिक भीड हुँदासम्म ओलीजस्ता तानासाह जन्मिरहन्छन् । हरेक पुस्ताले लोकतन्त्र प्राप्तिकै लागि लड्नुपर्ने शृङ्खला चलिरहन्छ ।
२०४६ सालको जनान्दोलनबाट राजनीतिक स्वतन्त्रता प्राप्त भएसँगै असन्तुष्ट भएकाहरुले गरेको विद्रोहमार्फत स्थापना भएको पछिल्लो राजनीतिक र शासकीय संरचना पनि एकदशक ननाघ्दै कमजोर बनेको छ । हामीले नै बनाएका राजनीतिक नेतृत्वको अकर्मण्यताको शिकार कति पुस्ता हुनुपर्ने हो ? तीनपुस्ता नै लोकतन्त्रकै लागि लड्नुपर्ने हो भने सुशासन, गुणस्तरीय जीवन एवं अर्थतन्त्र र समाजको समतामूलक विकासका एजेन्डाका लागि लड्ने कहिले ?
धनी झन धनी भइरहने र गरिब थप गरिब भइरहने यो विकृत राजनीतिक आर्थिक व्यवस्थाका विरुद्ध कहिले विद्रोह गर्ने ? देशमा व्याप्त सामाजिक, आर्थिक असुरक्षाका कारण नवयुवाहरुलाई कति विदेश धपाइरहने ? हाम्रो पुस्ता र अघिल्लो पुस्ताले भोगेको समान राजनीतिक सामाजिक दुःख भावी पुस्तालाई पनि दिने होर ? यी र यस्ता प्रश्नले हामी सबैमा विद्रोहको ज्वारभाटा सिर्जना गरेको छ ।
एउटा तितो यथार्थ यो पनि हो उही पुरातनवादी एजेन्डा, अमूृर्त राजनीतिक शब्दजाल र असभ्य राजनीतिक संस्कारका विरुद्ध यो पुस्ताले ढिलोचाँडो क्रान्ति गर्नुपर्ने अवस्था छ ।नयाँ पुस्ताको सोच, भावना, अपेक्षा र सिर्जनात्मक शक्तिलाई प्रयोग गर्दै मूल राजनीतिमा हस्तक्षेप गर्ने लक्ष्य बोकेकाहरु बीचको यो ध्रुवीकरण छिटै मूल राजनीतिक शक्तिका रूपमा स्थापित हुनेमा शङ्का छैन । एउटा सभ्य समाजसँगै राजनीतिक अकर्मण्यताको शिकार भएर रहन सक्दैन वा रहनदिनु पनि हुन्न ।
र अन्तमा, भनिन्छ राजनीतिलाई भीडले निर्देशित गर्छ । तर त्यो भीडको नियत सफा हुनुपर्छ । राजनीतिक लाभ दिइहाल्ने भीड त पुरानै पार्टीहरुमा छ तर अब बन्ने नयाँ भीड भने कुनै अमुक नेताको ढाल बन्नका लागि खडा हुनेछैन । असल र इमानदार मान्छेहरुको संगठन मात्र रूपान्तरणकारी भीड बन्नेछ । हो, सत्यलाई स्थापित गर्न समय लाग्छ । सत्यमा आधारित भीड जम्मा हुन समय लाग्छ । तर असम्भव भने छैन । कल्याणकारी लोकतन्त्रको मूल दर्शनमा टेकेर सु-संस्कृत राजनीति र समतामूलक समृद्धि प्राप्त गर्ने हाम्रो मूल लक्ष्य हो । सहभागितामूलक लोकतन्त्र, समन्वयात्मक बजार अर्थतन्त्र, कल्याणकारी राज्य र सामाजिक न्याय हाम्रा मार्गदर्शक सिद्धान्त हुन् भने पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता हाम्रा मूल्यमान्यता हुन् ।
- रामचन्द्र तिम्सिना
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology