काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजार उकालो लागेको छ । मौद्रिक नीतिले शेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गर्ने व्यवस्था गरेसँगै आइतवार शेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।
शेयर धितो कर्जामा जोखिमभार घटाएपछि यो क्षेत्रमा बैंकहरू शेयर कर्जा प्रवाह गर्न उत्साहित हुने देखिएको छ । जोखिमभार घट्ने भएपछि शेयर धितो कर्जा पनि सस्तो हुनेछ ।
त्यस्तै राष्ट्र बैंकले नीतिगत दर पनि घटाएको छ । यसकारण पनि अब विस्तारै ब्याजदर घट्दै जाने देखिन्छ । यस दिन सेन्सेटिभ इन्डेक्स ३ दशमलव ५१ प्रतिशत, फ्लोट इन्डेक्स ३ दशमलव १८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ४ दशमलव ०८ प्रतिशत वृद्धि भएको छ ।
कारोबारमा आएका २६६ धितोपत्रको १ करोड २० लाख २ हजार ३०८ कित्ता शेयर ७५ हजार ८६ पटकमा रू ४ अर्ब ३७ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोत्रपमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यस दिन सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्ट्सको भएको छ । कम्पनीको रू १४ करोड ८१ लाख बराबरको शेयर खरीद विक्री भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू ६४५ पुगेको छ ।
सर्वाधिक शेयर खरीदविक्री हुनेको सूचीमा दोस्रोमा ज्योति विकास बैंक छ । कम्पनीको रू १३ करोड ७७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology