काठमाडौं । सर्वोच्च अदालतको फैसलाले कोशी प्रदेशको मुख्यमन्त्रीको पद गुमाएका उद्धव थापाले सात दिनभित्र पुनः गठबन्धनले आफ्नो नेतृत्वमा सरकार बनाउने बताएका छन् ।
कुराकानीमा थापाले आफ्नो नेतृत्व सरकारको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूलाई मान्य भएको पनि बताए ।
‘सर्वोच्चले गरेको निर्णय मेरो लागि स्वीकार्य छ । हामी ऐन, नियम, कानुन, संविधान मान्ने पार्टी र व्यक्ति हौँ । सर्वोच्चको श्रीमान्हरूले गरेको निर्णयलाई मैले गलत छ भन्न मिल्दैन, जे निर्णय भएको छ त्यो ठीक छ,’ थापाले भने, ‘त्यो निर्णयप्रति मेरो समर्थन छ बाँकी कुनै प्रतिक्रिया छैन ।’
सात दिनभित्र नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सर्वोच्चले आदेश दिएको छ, अब पनि सरकार कांग्रेसकै बन्छ भन्ने प्रश्नमा थापाले कांग्रेसले नै नेतृत्व लिने बताए ।
‘पुनः प्रक्रियाबाट आउनुपर्छ, गठबन्धनबाट कांग्रेसले नै नेतृत्व लिएर तोकिएको समयभित्र सरकार बनाउँछ,’ थापाले भने ।
बिहीबार सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो ।
सर्वोच्चले कोशीमा सात दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया बढाउन भनेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म सो विकल्प अपनाउनु वाञ्छनीय देखिएको आदेशमा भनिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology