काठमाडाैं। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीले चामलको भाउ बढाएका छन्।
चामलको मूल्य बोरामै २ सय रूपैयाँसम्म बढेको छ। भारतबाट आयात रोकिएपछि चामलको मूल्य बढेको नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए।
नेपाल चामलमा आत्मनिर्भर नभएकाले ठूलो परिमाणमा भारतबाट चामल लगायतका खाद्यान्न आयात हुन्छ। आर्थिक वर्ष २०७९/०८० मा नेपालमा ३७ अर्ब रूपैयाँको चामल आयात भएको छ। १८ सय रूपैयाँ बोराको जिरा मसिना चामलको मूल्य बढेर २ हजार रूपैयाँ पुगेको छ।
नेपालमा गत वर्ष ५५ लाख मेट्रिक धान उत्पादन भएको थियो। नेपालमा ७० लाख मेट्रिक टन चामल खपत हुन्छ। यहाँ १६ लाख मेट्रिक टन धान अपुग भएकाले ठूलो परिमाणमा चामल आयात हुन्छ। चामल मात्र नभएर बजारमा अन्य खाद्य वस्तुको मूल्य पनि बढेको छ। तेल लिटरमा २० रूपैयाँसम्म वृद्धि भएको छ। सनफ्लावर १ सय ९०बाट २ सय १० रूपैयाँ लिटर पुगेको छ। भटमासको तेल लिटरमा १० रूपैयाँ बढेको छ। चिनी एक हप्ताभित्र ८८ रूपैयाँबाट प्रतिकिलो ११ रूपैयाँ बढेर ९९ रूपैयाँ पुगेको छ।
दैनिक उपभोग्य वस्तुको भाउ बढेपछि उपभोक्ता मारमा परेका छन्। यसले निम्न आय भएका मजदुर, विद्यार्थी लगायत प्रभावित भएका छन्। खाद्य वस्तुको मूल्य बढ्दा उपभोक्ताको भान्सा महँगो भएको छ। अनुगमन प्रभावकारी नहुँदा मूल्य बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए।
‘भारतबाट आयात रोकिँदासाथ चामलको मूल्य बढाएका छन्,’ उनले भने, ‘सरकारले अनुगमन गरेर कानुनी दायरामा ल्याउनु पर्छ।’ खरिद महँगो भएर बढ्नु स्वाभाविक भए पनि मनपरी मूल्य बढाएको उनले बताए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology