प्रकाश डोटेल, वालिङ । पर्वतको दक्षिण भेगको हुवास नजिकै केमुनेबाट स्याङ्जाको वालिङ आउँदा हुमबहादुर (पेमे) नेपालीको भर्खर विवाह भएको थियो । २०१० सालमा केमुनेमा जन्मेका पेमेको आर्थिक अवस्था धेरै नाजुक भएपछि कामको खोजीमा वालिङ आएका थिए ।
मजदुरी गरेर मात्रै शहर बजारमा पारिवारको जिविकोपार्जन गर्न निक्कै समस्या भएपछि उनले गाउँगाउँमा उत्पादन भएका स्थानीय उत्पादनका वस्तुलाई खरिद गरी बजारमा बेच्न शुरु गरे
४२ बर्षदेखि सुपोमा स्थानीय उत्पादन राखेर बेच्न शुरु गरेका पेमेलाई बजारका सबैले राम्रोसँग चिन्थे । पेमेले बिक्रीका लागि राखेको सामग्री किनेर चिनेकाले सघाउँथे । वालिङस्थित मोडमा अदुवा, बेसार, खुर्सानी, अमिलो, कागती जस्ता स्थानीय उत्पादनलाई बेच्ने र संकलित रकमबाटै परिवार चलाउने उनको दिनचर्या जेनतेन चल्दै आएको थियो ।
वालिङको मुख्य चोक सडक छेउमा आफ्नो जिन्दगीको उर्जाशिल ४२ बर्ष खर्चेका नेपाली गत हप्ता सधैंका लागि अस्ताउन पुगे । अदुवा, बेसार, खुर्सानी बेचेर साँझ अबेर अस्थायी बासस्थान गर्ने घर फर्कोका पेमे अर्को दिन फेरि वालिङ मोडमा नफर्कने गरी सधैंका लागि अस्ताए ।
जेनतेन परिवार चलाउदै आएका पेमेको मृत्युुपछि आर्थिक अवस्थाकै कारण उनका परिवारले वालिङ नगरपालिका वडा नं. ८ स्थित मालेबगर खेलमैदानको सार्वजनिक शौचालयमा काजकिरिया गर्दै आएका छन् ।
५ छोरा र २ छोरी जन्माएका नेपालीले श्रीमती पवि नेपालीकै सहयोगमा छोराछोरी हुर्काउने, बढाउने र दैनिक गर्जो टार्दै आएका थिए । श्रीमान्को किरिया बेसेकी पवि भन्छिन्, ‘स्थानीय राजेन्द्र गैरेको सहयोगमा अस्थायी रुपमा बस्दै आएको वालिङ मोड माथि एउटा छाप्रो समेत एक सहकारी संस्थाले भवन बनाउदा भत्कायो ।’ “छाप्रो भत्काएपछि न बास रह्यो न त किरिया बस्ने घर नै ।’ उनले भनिन्, “किरिया गर्ने ठाउँ नभएपछि सार्वजनिक शौचालयको सहारा लिनु परेको छ ।’
१२ जनाको परिवार लामो समयदेखि खेलमैदान छेउमा आश्रय लिएर बसेको पविको भनाई छ । पेमेकी कान्छी छोरी शान्ता नेपाली फुटबल खेलाडी समेत हुन् । उनले राष्ट्रिय फुटबल टिमबाट बङ्लादेशमा समेत सहभागी भईसकेकी थिईन् । आमा पविसँगै छोरी शान्ता पनि सार्वजनिक शौचालयमा बुवाको किरिया छिन् ।
घरको पिल्लर रुपी श्रीमान्को नै निधन भयो, अब झन बेसहारा भएका छौं । श्रीमान् गुमाउनुको पिडासँगै अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले पविलाई थप पिरोलेको छ । कमाई गर्न सक्ने छोराछोरी ज्यालामजदुरी गरेर आ–आफ्नो परिवार पाल्न बाध्य छन् । तर बोल्न नसक्ने सहित १२ जनाको जिम्मेवारी पविको काँधमा आएको छ ।
हिन्दू परम्परा अनुसार १३ दिन नै किरिया गर्ने भन्दै पविले काज किरिया खर्चको जोहो गरिदिन सबैमा आग्रह गरेकी छन् । सार्वजनिक शौचालयमा नेपाली परिवार किरिया बसेको जानकारी पाएपछि स्थानीय सामाजिक संघसंस्थाहरुले सहयोग पनि गरेका छन् ।
बोलबम समिति वालिङले थोरै भएपनि खाद्यान्न सहयोग गरेको छ । समितिले गरेको सहयोग खाद्यान्नले केही राहत पुगेको नेपाली परिवारले जनाएको छ । बोलबम समितिका प्रवक्ता युवराज गौतमले अस्तव्यस्त अवस्थाको शौचालयमा किरिया गरेको जानकारी पाएपछि सहयोग गरेको सुनाए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology