काठमाडौं । हिउँचितुवा र याकको संरक्षण गर्ने उद्देश्यले हिमाली जिल्ला मनाङमा मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । बाइकोस नेपाल र एन्ट फाउन्डसेनको आयोजनामा आगामी भदौ २५ देखि २७ गतेसम्म मैत्रीपूर्ण फुटबल हुने भएको हो ।
नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै आयोजकद्वय बाइकोस नेपाल र एन्ट फाउन्डेसनले हिमाल क्षेत्रमा पाइने हिउँचितुवा र याकको संरक्षणका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागेको जानकारी दिएको छ । समुन्द्र सतहबाट २ हजार ६ सय मिटर उचाइमा रहेको तिमाङ, ३ हजार १ सय मिटर उचाइमा रहेको पिसाङ र ३ हजार २ सय मिटर उचाइमा रहेको मुङ्जी फुटबल मैदानमा तीन वटा मैत्रीपूर्ण फुटबल हुनेछन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान एवं गोलकिपर उपेन्द्रमान सिंह, हरि खड्का र अनील गुरुङले उक्त अभियानमा रहने भएका छन् । मैत्रीपूर्ण फुटबलमा मनाङ याक, पिसाङ याक र कान्जिसार याक गरी तीन वटा टोलीले प्रतिष्पर्धा गर्नेछन् । यस क्रममा नेपालका फुटबल स्टारसहित विभिन्न क्षेत्रका १८ जना सेलिब्रिटी र स्थानीयहरू मैत्रीपूर्ण फुटबलमा सहभागी हुने भएका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङसँग आफ्नो भावनात्मक नाता रहेको र यस पटक मनाङमै पुगेर फुटबल खेल्ने पाउनु खुशीको क्षण हुने प्रतिक्रिया दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology