पोखरा । पर्यटकीय नगरी पोखरालाई सौन्दर्यकरण गर्ने आयोजना अन्तरगत अहिले विद्युतीय तार भूमिगत गर्ने काम चलिरहेको छ । योजना सौन्दर्यकरणको रहे पनि कार्य प्रगति भने म्याद सकिनै लाग्दा भर्खर मात्रै ठेकेदारलाई तातो लागेको छ ।
दुई वर्षमा ३६ किलोमटिर सडकमा तार भूमिगत गर्न भारतीय कम्पनीले ठेक्का पाएको थियो । आयोजनाको जिम्मा पाएसगै ठेकेदार आफै १५ महिना भूमिगत भए पछि योजना समयमा सकिने कुरै भएन ।
विद्युत तार भूमिगत गर्ने योजनाको आधा पनि काम नसक्दै म्याद सकिने पक्कापक्की जस्तै छ । २०७८ माघमा योजनाको ठेक्का पाएको भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले ठेक्का सम्झौता भएको १५ महिनापछि मात्रै आयोजनाको काम सुरु गरेको थियो । दुई वर्षको म्याद माघमा सकिनै लाग्दा कार्तिक मसान्तमा २५ प्रतिशत मात्रै काम सकिएको छ ।
ठेकेदारले इञ्जिनीयरिङ, डिजाइन लगायत आवश्यक यन्त्रउपकरण र जनशक्ती व्यवस्थापनमा समय खर्चेकाले आयोजनाको काम पछाडी धकेलीएको आयोजनाको जवाफ छ ।
पोखरा महानगरपालिका–१० कुँडहरचोकमा रहेको सबस्टेसनदेखि सेती नदी पुलसम्म र लेकसाइडका केही गल्लीमा पहिलो चरणमा पाइप विछ्याउने काम भइरहेको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना पोखराका प्रमुख आनन्द सुवेदीले जानकारी दिए ।
‘सुरुमा पोखराको भौगर्भिक अवस्था, पोखरा–मुग्लीन बन्दै गरेको सडकको अवस्था र ठेकेदारको केही उदासीनता (विश्वव्यापी सामानको मृल्यबृद्धिका कारण) देखियो । हामीले सोँचे अनुसार लगभग एक वर्ष काम हुन सकेन एकदम स्लो भयो’ उनले भने । निर्धारित समयमा काम सम्पन्न हुने अवस्था नरहेको बताउदै सुवेदीले सन् २०२४ मा सम्पन्न गरिसक्ने अर्को लक्ष्य सुनाए
‘अब निर्धारित समय त आउँछ, २०२४ को जनवरीमा हामीले सम्पन्न गर्नुपर्ने हो तर हामी २०२४ भित्रमा सम्पन्न गर्ने गरी काम अगाडी बढाएका छौँ’ उनले भने ।
सेती नदी पूर्व पाइप गाड्ने काम मंसिर देखी पोखराको मुख्य बजार क्षेत्रमा काम गर्ने गरी ठेकेदारले काम गरिरहेको छ । लेकसाइडको स्ट्रीट नम्बर १५, १६ र १७ मा पाइप विछ्याउने काम भइसकेको उनले बताए । वडानम्बर ७ मा पनि तिहार लगत्तै काम सुरु हुन्छ ।
सुरुवाती समयमा ठेकेदारले मेसिन मार्फत सुरुङ खनेर तार भूमिगत गर्ने योजना बनाएको थियो । तर, मेसिनले काम नगरे पछि ठेकेदारले काम स्थगित गरेर पुनः थप क्षमताको मेसिन भित्राएको छ । लेकसाइडमा मेसिन मार्फत नै पाइप विछ्याउने काम भइरहेको सुवेदीले बताए । सडक विस्तारको क्रममा रहेकाले सेती नदी पूर्व भने डोजर मार्फत नै पाईप गाड्ने काम भइरहेको छ ।
सुवेदीका अनुसार सेती नदी पश्चिममा भने मेसिन मार्फत नै सुरुङ खनिने छ । तिहार पछि तीन वटा मेसिन मार्फत द्रुत गतिमा सुरुङ खनिने उनले दावी गरे । चारवटा मेसिन ल्याउने प्रतिवद्धता गरेको ठेकेदारले दुइवटा मात्रै मेसिन भित्राएको छ ।
पृथ्वीचोकबाट जिरो किलोमिटरसम्मको मुख्य राजमार्ग, जिरो किलोमिटरबाट विद्युत प्राधिकरण वितरण केन्द्र मालेपाटनसम्म, सृजनाचोकदेखी राष्ट्रबैंकचोक, सभागृहचोक देखी न्यूरोड हुदैँ चिप्लेढुङगा र लेकसाइड क्षेत्रमा तार भूमिगत गरिने छ ।
पोखराका अत्यन्त व्यस्त ट्राफिक हुने सडक भएकाले पनि अहिलेकै जस्तो कमजोर व्यवस्थापनले कामलाई तिब्रता दिन सक्ने अवस्थ देखिदैन । आयोजना प्रमुख सुवेदीले कोर बजार एरियामा काम गर्न थप अससहज हुने स्विकार गरे ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले पोखरालाई अझै सन्दर बनाउन यो आयोजना कार्यान्वयन भइरहेको बताए ।
‘पोखरा आफैमा सुन्दर पर्यटकिय नगरी हो, यो सुन्दर सहरालाइ अझै सुन्दर बनाउन र व्यवस्थीत गर्नका लागि तारहरुको व्यवस्थापन जरुरी छ’ उनले भने । उनी थप्छन्–‘यसको गति अहिले ढिलो भइरहेको छ यसलाई अझै द्रुत गतिमा अगाडी बढाउन आवश्यक छ, प्राधिकरणले मागेको सहयोग गछौँ ।’
महानगरले छिटो सम्पन्न गर्न सहजिकरण र फलोअप गरिरहेको प्रवत्ता तिम्सिीनाले खुलाए ।
विद्युत् लाइनसँगै टेलिफोन, केबल र अप्टिकल फाइबर साथै निजी र सरकारी दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत हुने छन् । सोही अनुसार पाईप विछ्याउने सुवेदीको भनाइ छ ।
‘पाइप विछ्याउने काम सकिएका ठाउँमा तार विछ्याइने निर्माण कम्पनीको तयारी हो । सुरुमा कुँडहरमा रहेको प्राधिकरणको सबस्टेशनबाट तार विछ्याउन सुरु हुनेछ । तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखिने छ, ग्राहकको घर–घरमा बिजुली पुर्याउने काम हुनेछ, ग्राहकले कुनै खर्च व्ययभार गर्न पर्दैन’ सुवेदीले भने ।
योजनाका लागि चाहिने सामान तीन चरणमा खरिद गरिने सुवेदीले बताए । पहिलो चरणको ३३ प्रतिशत सामान भने आइसकेको छ ।
कुँडहर सबस्टेसनबाट सुरुवात गरिएको तार भूमिगत गर्ने आयोजनालाई पोखरा अन्तराष्ट्रिय विमानस्थललाई केन्द्रीत गदै करिब २ किलोमिटर क्षेत्र (राजमार्गको दायाँ बायाँ) विस्तार गरिएको छ ।
‘कुँडहर सबस्टेसनबाट लामो दुरी पनि नरहेको र विमानस्थलबाट पोखरा भित्रने पर्यटकलाई केन्द्रीत गरेर विमानस्थल गेटसम्म क्षेत्र विस्तार गरिएको हो’ सुवेदीले भने ।
यसबाट प्राधिकरणलाई २० करोड भार थप हुने अनुमान गरिएको छ । अब विमानस्थलको एक सय मिटर पूर्वबाट तार भूमिगतको काम हुने सुवेदीले बताए ।
आयोजना अन्तरगत भरतपुरमा पनि विद्युत तार भूमिगतको काम भइरहेको छ । भरतपुरमा भने ५० प्रतिशत भन्दा धेरै काम भइसकेको सुवेदीले बताए । भरतपुरमा २५ किलोमिटरमा तार भूमिगत गरिने उनले बताए । भरतपुरमा पनि तार भूमिगत गर्ने ठेक्का भारतीय कम्पनी टाटाले नै पाएको छ ।
पोखरा र भरतपुरमा गरी तार भूमिगत गर्नका लागि दुई अर्ब ५० करोड ३३ लाखमा ठेक्का लागेको हो । त्यसमध्य पोखरामा एक अर्ब ३० करोड खर्च हुनेछ ।
सहर सौन्दर्यकरण र विद्युतको गुणस्तर सुधारका लागि तार भूमिगत गर्न लागिएको प्राधिरणले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology