काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको असरका बारेमा नेपालले औपचारिक रूपमा विश्वसामु आफ्नो आवाज बुलन्द गर्नपर्ने विचार ब्यक्त गरेका छन् । पार्टीको परराष्ट्र मामिला विभाग र वन तथा वातावरण विभागले जलवायु परिवर्तन न्याय कोप-२८ मा नेपालले लिनुपर्ने अडानका विषयमा विज्ञहरूसँग गरेको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा पर्यावरणीय सङ्कट निम्तिन सक्ने चिन्ता व्यक्त गरे ।
"नेपालले सङ्कट टार्न विश्व समुदायको ध्यान आकर्षण गर्न ढिला गर्नु हुँदैन" अध्यक्ष ओलीले भने, "हिमाललाई तीव्र असर पुर्याउने काम विकसित देशले गरिरहेका छन् । त्यसबापत विकसित देशले केही रकम दिएर मात्र पुग्दैन । विकसित देशले हिमाललाई कसरी बचाउने भन्नेतर्फ ध्यान दिने बेला आएको छ।"
कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टाराईले जलवायु परिवर्तनका असरको विषय कूटनीतिक हिसाबमा प्रभावकारी लविङ गर्ने बेला आएको बताएका थिए । उनले सबै देशले संयुक्त रूपमा समस्या समधान गर्ने आवाज उठाउनुपर्ने बेला आएको बताए ।
एमाले वन तथा वातावरण विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन्यजन्तु विभागका महानिर्देशक डा. सिन्धु ढुङ्गानाले कार्यपत्र प्रस्तुत गर्नु गरेका थिए भने डा. विमला राई पौडेल, घनश्याम पाण्डे, कञ्चन लामा, डा. महेश्वर ढकाल,अमृत देवकोटा, नवराज पुडासैनी लगायतले विचार राखेका थिए ।
कार्यक्रममा जलवायु विज्ञ, पूर्वमन्त्री, सांसद, नागरिक समाज तथा विभिन्न संस्थाका व्यक्तिहरुले यस पटकको कोपमा नेपालले हानी–नोक्सानी क्षतिपूर्ति कोषमा बढी ध्यान केन्द्रित गर्नु पर्ने र जलवायु न्यायका विषयमा अडान लिनुपर्ने सुझाव दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology