कञ्चन । ‘लैगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा शनिवारदेखि सुरु भएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने गर्दछ ।
अभियानकै क्रममा रुपन्देहीको कञ्चन गाउँपालिकामा समेत शनिवारदेखि हिंसाविरुद्धको अभियान सुरु भएको छ । कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल र उपाध्यक्ष मौसमी थापा मगर, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यलगायतले 'म हिंसा गर्दिन, हिंसा सहदिँन, हिंसाविरुद्धमा आवाज उठाउँछु, हिंसा भएमा वा देखेमा प्रतिकार गर्छु' भन्ने ब्यानरमा हस्ताक्षर गरे ।
त्यस अवसरमा बोल्दै पालिका अध्यक्ष नवराज ढकालले महिला हिंसा समाजका विभिन्न स्थानमा भैरहेको र हिंसा समेत विभिन्न प्रकृतिका भएकोले त्यसको अन्त्यका लागि सवैको ऐक्यबद्धता जरुरी रहेकोमा जोड दिए । कञ्चन गाउँपालिकालाई महिला हिंसा अन्त्य पालिका घोषणा गर्न सवैको सहयोग भयो भने त्यो सम्भव रहेकोले महिला हिंसा नियन्त्रणमा सवै एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
त्यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मात्र नभइ सवै समयमा नै महिला हिंसा नियन्त्रणमा सवैको ध्यान जानुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता चित्र तुलाचन, वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेल लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology