राजेश पराजुली, मुस्ताङ । गण्डकी प्रदेश सरकारले चौँरीको नश्ल सुधारका लागि मुस्ताङ र मनाङका किसानलाई याक वितरण गरेको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयले मुस्ताङका कृषकलाई १० र मनाङमा नौ गरी १९ याक वितरण गरेको हो ।
सोलुखुम्बुको स्याङबोचेमा रहेको याक आनुवांशिक स्रोत केन्द्रबाट खरिद गरेर ल्याइएका याक मुस्ताङकालागि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले ती याक हस्तान्तरण गरे।
नश्ल सुधारका लागि नेपालको सरकारी एक मात्र याक अनुवांशिक स्रोत केन्द्र स्याङ्बोचे, सोलुखुम्बुबाट याक ल्याइएको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा प्रेरणा सेढाई भट्टराईले बताए ।
मुख्यमन्त्री पाण्डेले उन्नत जातको याकबाट नश्ल सुधारमा मद्दत पुग्ने र हिमाली क्षेत्रका किसानलाई फाइदा हुने बताए। गण्डकी प्रदेशको मुस्ताङ र मनाङमा व्यावसायिक चौँरीपालन हुने गरेको छ । म्याग्दी र कास्कीको लेकाली क्षेत्रमा पनि चौँरीपालन गरिएको छ ।
याकको नश्ल र जातीय सुधारको लागि पहिलो पटक याक(भाले) प्रजातिको करिब डेढ देखि दुई वर्षका याक वितरण गरिएको पशुपन्क्षी विकास निर्देशनालयका अधिकृत सुरेशकुमार श्रेष्ठले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology