देवदह । खेलकुद क्षेत्रमा स्थानीय प्रतिभाको पहिचान ,प्रोत्साहन र संरक्षण गर्ने उद्देश्यले देवदह नगरभित्रका विद्यार्थीबीच अन्तर विद्यालय राष्ट्रपति कप रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।
देवदह नगरपालिकाको आयोजना तथा देवदह मा विको संयोजनमा यही माघ १२ देखि १४ गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते र तेकाण्डोतर्फका छात्र तथा छात्राबीच विभिन्न प्रतियोगिता हुने र प्रतियोगिताबाट जिल्ला, प्रदेश तथा राष्ट्रिय अन्तराष्ट्रिय खेलका लागि योग्य खेलाडी तयार हुने लक्ष्य लिइएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल मन्त्रलाई आत्मसात गरेर आयोजना गरिएको प्रतियोगिताले स्थानीय विद्यार्थीबीच स्वच्छ प्रतिष्प्रर्धा भई योग्य र प्रतिभावान् खेलाडीको पहिचान र प्रोत्साहनमा सहयोग पुग्ने प्रतियोगिताका संयोजक तथा देवदह नगरपालिका प्रमूख ध्रुब प्रसाद खरेलले बताए । देवदह नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका १८ वर्ष मुनिका विद्यार्थीहरुले भाग लिने राष्ट्रपति कप रनिङ्ग शिल्ड प्रतियोगिताका लागि तयारीका कामहरु सुरु भएका छन् । प्रतियोगिता सञ्चालनका लागि संयोजन गर्ने संस्था देवदह माविको संयोजनमा स्थानीय बुद्दिजीवी तथा विद्यालयका सल्लाहकारहरु, प्रतियोगितामा सहभागी हुने विद्यालयका प्रधानाध्यापकहरु र खेल शिक्षकहरुबीच छुट्टाछुट्टै समन्वयात्मक बैठक सम्पन्न भएको प्रतियोगिताका सदस्य सचिव तथा देवदह मा विका प्रधानाध्यापक हरिप्रसाद पाण्डेले बताए ।
प्रतियोगिताले विद्यालयहरुमा उत्कृष्ट, अनुशासित र सक्षम खेलाडी तयार गर्न तथा विद्यार्थीमैत्री खेलकुद वातावरण तयार गर्न सहयोग पुग्ने नगरपालिकाका उप प्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताइन् । देवदह मावि परिसरमा आयोजना हुन लागेको प्रतियोगिताको लागि अहिले खेल मैदान सम्याउने तथा समन्वयात्मक कामहरु भैरहेको विद्यालयका अध्यक्ष सुरज खरेलले बताए ।
प्रतियोगिताका लागि माघ ४ गते दिउँसो ४ बजेभित्र नाम दर्ताको समय रहेको छ । प्रतियोगितामा भाग लिनका लागि विद्यालयहरुले आ आफ्नो विद्यालयमा आन्तरिक प्रतिष्पर्धा गराएर विद्यार्थी छनौट गरेर पठाउनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology