बुटवल । लुम्बिनी प्रदेशमा कांग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको हस्ताक्षर जुटाई प्रदेश प्रमुख अमिक शेरचनलाई नयाँ सरकार गठनको आह्वान गर्न निवेदन दिएका हुन् । बिपक्षी गठबन्धनले ४१ सांसद संख्या सरकार गठनको लागि बहुमत हुने भन्दै सरकार गठनको लागि दाबी गरेका हुन ।
मुख्यमन्त्री शंकर पोखरेल यस अघि नै अल्पमतमा परेको र जालझेल गरेर सत्तामा बसिरहेको उनिहरुले बताउदै आएका छन । उनिहरुले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन आह्वानको लागि हस्ताक्षर सहित निवेदन दिएका हुन ।
हस्ताक्षर बुझाउनका लागि कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलकी नेता तारा जिसी पुगेका थिए।
लुम्बिनी प्रदेश सभामा ८३ जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रका २०, कांग्रेसका १९ र जसपाका ६ जना, एमालेबाट ४१ जना सांसद र राष्ट्रिय जनमोर्चाका एक जना सांसद रहेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई सरकार बचाउन कूल ४४ सांसद आवश्यक पर्नेमा अहिले ४१ जनाको समर्थन छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology