३१ चैत्र, एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाबले रोमाञ्चक जित हात पारेको छ । पञ्जाबले राजस्थानलाई ४ रनले हराउँदै रोमाञ्चक विजयी सुरवात गरेको हो । राजस्थानका कप्तान सञ्जु स्यामसनले कीर्तिमानी शतक बनाए पनि पन्जाबलाइ जित्न ४ रन अपुग बन्यो ।
जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो ।
कप्तान सञ्जु स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्का सहित सर्वाधिक १ सय १९ रनको उत्कृष्ट शतकीय कीर्तिमानी इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । स्यामसनले ५४ बलमा शतक प्रहार गरेका थिए । आइपिएल इतिहासमा डेब्यू कप्तानीमा शतक प्रहार गर्ने स्यामसन पहिलो ब्याट्सम्यान बनेका छन् ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । पन्जाबका कप्तान लोकेश राहुलले ५० बलमा ७ चौका र ५ छक्का सहित ९१ रनको उत्कृष्ट इनिङ खेले । दीपक हुडाले २८ बलमा ४ चौका र ६ छक्का सहित ६४ रनको विष्फोटक इनिङ खेलेका थिए ।
राजस्थानले आफ्नो दोस्रो खेल बिहिबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ भने पन्जाबले शुक्रबार चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology