सुर्खेत । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबीच शनिबार सुर्खेतको बिरेन्द्रनगरमा भेटघाट भएको छ । दुई प्रदेशबीच शिष्टाचार भेटघाट भएको र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न भेटघाटले बल पुर्याउने प्रदेश प्रमुख शेरचनको सचिवालयले जनाएको छ ।
भेटघाटमा बाेल्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको विकासको लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । प्रदेशको स्थायित्व र समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै शेरचनले संघीयताको मर्म अनुसार विकासको बाटोमा अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।
कर्णाली प्रदेश प्रमुख परियारले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समृद्धिका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । शिष्टाचार भेटघाटमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई आफुले लेखेको पुस्तक उपहार दिएका थिए भने शेरचनले परियारलाई मायाको चिनो दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology