देवदह । देवदह नगरपालिकाको १४ औं नगरसभामा स्थानीय ब्यवसायीले बिरोध जनाएका छन् । बुटवल-नारायणगढ सडकखण्ड मध्ये चरङ्गेदेखि खैरेनीसम्मको सडक निर्माण कार्यमा ढिलाई भएको र नगरपालिकाले आवश्यक समन्वय नगरेको भन्दै व्यवसायीहरुले बिरोध जनाएका हुन् । स्थानीय प्रेम थापाको नेतृत्वमा आएका व्यवसायीहरु नगरसभा चलिरहेको हलमा प्रवेश गरि नगर प्रमुखसंग जवाफ माग गरे ।
देवदह नगरपालिका र चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ्ग कर्पोरशनबीच गत पौषमा ४ मा ३ महिनाभित्र एकतर्फी सडक निर्माण गर्नेगरि नदिजन्य पदार्थको खरिद विक्री सम्झौता भएको थियो । जसअनुसार नगरपालिकाले देवदहका विभिन्न खोलाबाट तीन करोड १५ लाख बढी मूल्यको नदिजन्य पदार्थ उत्खनन गर्न चाइना स्टेट कन्सट्रक्सनलाई अनुमती दिएको थियो । यद्यपी सम्झौता भएको ६ महिना पुरा हुँदा समेत कम्पनीले सम्झौता बमोजिम सडक निर्माण नगरेपछि स्थानियहरु आक्रोसित हुँदै आएका छन् । सडकमा उड्ने धुलो र बर्षा याममा हुने हिलोका कारण बजार क्षेत्र अस्तब्यस्त छ ।
आन्दोलित व्यवसायीहरुले कमिसनका कारण निर्माण कार्यमा ढिलाई भएको आरोप लगाएका छन् । सेतोमसीसंग कुरा गर्दै स्थानिय प्रेम थापाले निर्माण कार्यमा भएको ढिलाईबारे आफुहरु नगर प्रमुखसंग जवाफ माग्न आएको बताए । उनले सुनवल नगरपालिका क्षेत्रको सडक एकतर्फी रुपमा पिच भईसक्दा पनि देवदह नगरको उदासिनताका कारण यस क्षेत्रको सडक बर्षाको समयमा हिलाम्य भएको आरोप लगाए । भ्रष्टाचार र कमिसनतन्त्रको बिरोधमा आफुहरुले आन्दोलन गरिरहेको र सडक निार्मणमा समेत लेनदेनको आशंका रहेको बताउँदै उनले नगरप्रमुखले जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्ने उल्लेख गरे ।
विसं २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी सडक निर्माणका लागि चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले वि.सं २०७५ माघ २४ मा सम्झौता गरेको थियो । विस्तारको काम सुरु भएको ४२ महिनाभित्र काम सक्नेगरी जिम्मा पाएको कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा पटकपटक म्याद थपिए पनि उल्लेख्य काम हुन सकेको छैन ।
यस बिचमा बुटवल-खैरेनी सडकखण्डको डाइभर्सनमा खसेर देवदहका ३ जना युवकको ज्यान गएको छ । भने दैनिक रुपमा दर्जनौं सवारी साधन दुर्घटनामा पर्ने गरेको र उक्त दुर्घटनामा परि सयौंको संख्यामा घाईते हुने गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology