आजभोलि जताततै सेयरको चर्चा भए जस्तै त्यतिखेर लंगुरबुर्जाको चर्चा हुन्थ्यो। दशैं-तिहार र हाट-पर्वमा खुब खेलाउथ्यो र खेलिन्थ्यो।आजभोलि यो खेल गैरकानुनी बनेको छ।
एउटा अविस्मरणीय घटना ०५२/०५३ साल तिरको कुरा हो।म अलि सानै थिए। रत्नपार्कमा लङ्गुर बुर्जा खेलाएर सोझा साझा मान्छेलाई ठग्ने गिरोह निकै सक्रिय भएका थिए। उनीहरूको ठग्ने जुक्ति अनौठो खालको थियो।नढाँटी भन्नुपर्दा आमाको थैलीबाट चोरेर लगेको ५५०/- रुपे दाम एकै झड्कामा सकाएको थिए।
एक जना खेलाउँने हुन्थ्यो भने उसैको अर्को साथी खेल्ने जस्तै बनेर खेलिरहेको हुन्थ्यो। खेलको रौनक बढ्दै जान्थ्यो। खेल सय पचास बाट पाँच सय हजारमा चढ्न थाल्यो। तब सल्लाह अनुसार नै खेलाउदै गरेकोले लङ्गुर बुर्जाको गोटी खर्ल्याङ खर्ल्याङ पार्दै ढ्याप्प भुइँमा राख्छ अनि पछाडि फर्केर खैनी फाले जस्तै गरेर दुई तीन पटक लगातार पछाडि फर्केर थुक्छ। यत्तिकैमा उसैको अर्को खेलिरहेको साथिले ढकनी उठाएर हेर्छ र सबैलाई झण्डी डबल परेको संकेत गर्दै झण्डीमा हजारको नोट हाल्छ। अरु पनि के कम झण्डीमै धमाधम पैसा झर्न थाल्यो। पाँच दश रुपे थाप्ने म जस्ताले पनि यसपालि गोजी खाली गरेर सबै पैसा खन्याईहाले। खेलाउनेले ढकन उठायो। सबै पैसा सोहोरेर झोलामा हाल्यो।
यत्तिकैमा उसको एउटा साथीले पुलिस आयो पुलिस आयो भाग भाग भन्दै त्यहाँबाट कुलेलाम ठोके। बिचरा हामी लाटाहरु ट्वाल्ल परेर एकले अर्कोतिर हेर्न थाल्यौं।
अहिले रत्नपार्कमा त्यस्ता ठग जुवाडेहरु त भेटिदैनन्। भेट्यो कि पुलिसले ढाड भाचीहाल्छ। किनभने यो काम गैरकानुनी हो। सुनिन्छ चोरका हजार दाउ भनेजस्तै आजभोलि तिनीहरू सेयर बजार तिर छिरेका छन् रे।
होसियार रहनु होला। त्यहाँ पुलिसले ढाँड भाच्न पाउदैन किनकि त्यो कानुनी हो।
रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology