०२ बैशाख, बुटवल- ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले हराउँदै बैंग्लोरले दोस्रो जित निकालेको हो ।
आईपीएलको उद्घाटन खेलमा मुम्बईलाई हराउँदै बेंगलोरको पहिलो जित
जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन मात्रै बनायो । हैदराबादका कप्तान डेविड वार्नरले ३७ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । मनिष पाण्डेले ३९ बलमा २ चौका र २ छक्का सहित ३८ रन बनाए । राशिद खान ९ बलमा १ चौका र १ छक्का सहित १७ रनमा रन आउट भए । अन्य ब्याट्सम्यानले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
चेन्नईस्थित एमए चिदंबरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । बैंग्लोरका लागि ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ५ चाैका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान बिराट कोहलीले २९ बलमा ४ चाैकाका साथ ३३ रन जोडे । खेलकाे म्यान अफ दी म्याच म्याक्सवेल घाेषित भए ।
यो जितसँगै बैंग्लोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार अंक जाेडेकाे छ। यस अघि उद्घाटन खेलमा बैंग्लोरले साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको थियाे ।
हैदरावादले भने दुवै खेलमा हार व्यहाेरेकाे छ । पहिलो खेलमा हैदरावाद कोलकत्ता नाइट राइडर्ससँग १० रनले पराजित भएको थियो ।
(एजेन्सीको सहयोगमा)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology