बुटवल । नेकपा (एमाले) जिल्ला कमिटि गुल्मीले अहिले गाउँगाउँमा संगठनहरुको पुर्नगठन अभियान संचालन गरेको छ । केहि स्थानमा अधिवेशनका कार्यतालिका बनेका छन् । तर, जिल्ला अध्यक्ष बालसिंह काउछाले केन्द्रिय निर्देशन उल्टाएर कार्यकर्तासंग प्रतिशोध साधेको र निषेध गरेको भन्दै स्थानीय नेताले आपत्ति जनाएका छन् ।
गत भदौ २७ गते जिल्ला अध्यक्ष काउछाले दोस्रो पालिका तथा वडा अधिवेशनका सन्दर्भमा ‘पालिका तथा वडा अधिवेशन व्यवस्थित गर्न निर्देर्शिका तथा मापदण्ड ०८१’ जारी गरे । सो निर्देशिकाको बुँदा नम्बर २५ मा उपल्लो कमिटीको अधिवेशनमा बसेर पराजित भएका र उक्त अधिवेशन सम्पन्न भएको मितिले ६ महिना समय अवधि पुरा नभएका उमेद्वारको हकमा प्रतिनिधी वा उमेद्वार बन्न पाइने छैन भन्ने उल्लेख छ । सोही बुँदाको विरूद्ध स्थानीय नेताले पार्टीको संगठन विभागमा लिखित उजुरी नै दिए ।
आफु र आफ्ना बिरुद्ध निर्वाचन लडेका सयौ नेता कार्यकर्तालाई पाखा लगाउने गरि जिल्लाले निर्देशन जारी गरेको भन्दै उजुरी परेपछि संगठन विभागले त्यसलाई सच्याउन जिल्ला पार्टीलाई सर्कुलर गर्यो । यसरी केन्द्रले जिल्लाको निर्णय उल्टाइदिएपछि एमाले गुल्मीमा अब के हुन्छ भन्ने अन्यौल देखिएको छ ।
एमाले केन्द्रिय संगठन विभागले भदौ ३ गते जिल्ला कमिटी गुल्मीले गरेको उपल्लो कमिटीको अधिवेशनमा बसेर पराजित भएका र उक्त अधिवेशन सम्पन्न भएको मितिले ६ महिना समय अवधि पुरा नभएका उमेद्वारको हकमा प्रतिनिधी वा उमेद्वार बन्न पाइने छैन भन्ने व्यवस्था कतै नभएकाले जिल्लाको निर्देशिका सच्याउन निर्देशन दिएको छ । त्यस्तै जिल्लाको नेतृत्वले चाहेको व्यक्ति अध्यक्ष मण्डल तोक्ने आशयको जिल्ला कमिटी गुल्मीको निर्देशिकाको २१ नं बुँदालाई पनि एमाले केन्द्रिय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सच्याउन आग्रह गरेका छन् । संगठन विभागले अधिवेशन गर्ने जिम्मेवारी सम्बन्धित कमिटी इन्चार्जको हुने र पालिका तथा वडा कमिटी इन्चार्ज क्रमश: प्रदेश र जिल्ला कमिटीले तोक्ले व्यवस्था रहेको उल्लेख गरेका छन् । बन्दसत्रमा नामहरु प्रस्ताव गर्ने र हलको निर्णय अनुसार अध्यक्ष मण्डलको टुगो गर्ने परिपाटीको स्मरण समेत केन्द्रिय निर्देशनमा गराइएको छ ।
जिल्लाको निर्णय केन्द्रले उल्ट्याइदिएको अवस्थामा अब के गर्नुहुन्छ भन्ने प्रश्नमा सेतोमसीसंग कुरा गर्दै जिल्ला अध्यक्ष काउछाले केन्द्रले जिल्लाको निर्णय उल्ट्याएको नभई सुझाब दिएको बताए । "हाम्रो जिल्लालाई कसरी व्यवस्थित गर्ने भन्नेमा हामी चिन्तित छौं । एउटै मान्छे सबैतिर निर्वाचन लड्दै हिड्ने कुरा व्यवहारिक पनि नहुने र त्यसले संगठन व्यवस्थित पनि नहुने भएकोले त्यस्तो निर्देशन गरिएको हो ।" उनले भने, "तोकिएकै समयमा स्थानीय कमिटिको अधिवेशन हुनेछन् । यसले एमालेलाई झनै बलियो बनाउने छ । कसैप्रति पनि हामीले पूर्वाग्रह राखेर काम गरेका छैनौं "
यता एमालेका जिल्ला नेता सोमनाथ सापकोटाले केन्द्रले फरक ढंगले निर्देशन गरेको अवस्थामा जिल्लाको पुरानै निर्देशन कार्यान्वयन नहुने बताए । "हामी एमालेका इमान्दार र अनुशासित कार्यकर्ता हौँ ।" मुसीकोट नगरपालिकाका पुर्व नगर प्रमुख समेत रहेका सापकोटाले भने, "पार्टी संगठनलाई मजबुत बनाउन पार्टीको निर्देशन सबैले मान्नुपर्छ, संगठन विभागको निर्देशन अनुसार जिल्ला पार्टी अगाडि बढ्नुपर्छ ।"
जिल्ला कै नेता कार्यकर्तामा हुने विवादले पछिल्लो अधिवेशनपछि एमाले गुल्मीमा निराशा छाएको छ । स्थानीय कार्यकर्ताहरू यसले मिसन ८४ मा एमालेलाई क्षति पुर्याउन सक्ने बताउंदै आएका छन् ।
जिल्ला अधिवेश्नमा भएको निर्वाचनपछि संवादहिनता, बाइपास गर्ने मनोबृति बढिरहेको छ । यतिसम्म संवादहिनता देखिएको छ कि नेताहरूले भेटघाट चलाफाला गर्नुको सट्टा रजिस्टर्स चिठ्ठी पठाउने गरिएको छ । जहाँ सदरमुकाम र पार्टी कार्यालय पेरिफेरीमा बस्ने नेताकार्यकर्ताहरुलाई समेत रजिस्टर्स चिठ्ठी पठाउने गरिएको छ ।
यसको अर्को उदाहरण जिल्ला नेतृत्वकै ठाडो निर्देशनमा केही समय अगाडि प्रेस चौतारीको नेतृत्वको अधिवेशन आव्हान भयो । पछि प्रेस चौतारी केन्द्रिय निर्वाचन आयोग र केन्द्रिय कमिटी अध्यक्षको पूर्ण असहमतीमा अधिवेशन हुन सकेन ।
जिल्ला नेतृत्वले नेकपादेखिको आर्थिक हिसाबकिताव पारदर्शी बनाउन नसकेको आरोप एमालेभित्रैका नेताहरुले लगाउँदै आएकमा छन् ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology