काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्दा विचार नपुर्याए देश सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्ने बताएका छन् ।
संविधान निगरानी समूह र इन्ष्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकोनोमिक रिसर्चले सोमबार आयोजना गरेको कार्यक्रममा उनले संविधान संशोधन जटिल र संवेदनशील विषय भएको बताए ।
‘संविधान संशोधन निकै संवेदनशील गम्भीर विषय हो । यो संविधान लामो संघर्ष र ठूलो बलिदानपछि संविधान सभाबाट बनेको हो, जसमा अधिकतम राजनीतिक सहमति बनेको संविधान हो, यसमाथि हामीले अलिकति पनि छेडखान गर्ने ढंगले गयौं भने पान्डोराको बाकस खोलेको जस्तो हुने र देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ’, उनले भने ।
संविधान संशोधनबाट महिला, आदिवासी जनजाति, दलित लगायत पछाडि पारिएका समुदायको अधिकार खोस्न खोजेमा ठूलो राजनीतिक द्वन्द्व हुन सक्ने उनले बताए ।
उनले जिम्मेवारीसाथ संविधान कार्यान्वयन गर्ने र कार्यान्वयनका क्रममा प्रयोगमा नआएका कुरालाई संशोधन गर्न सकिने बताए ।
नेपाली कांग्रेस र नेकपा एमालेले सरकार गठनका बेला संविधान संशोधन गर्ने भनेर नागरिकलाई झुक्याएको उनले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology