देवदह । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भुमिश्वर ढकालले तिनै तहका सरकारले विकासको कामलाई प्रार्थमिकता दिएको खण्डमा देवदह क्षेत्रको विकासलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
पाल्पाली सामुदायिक वन उपभोक्ता समूह देवदह–६ को १२ औं साधारणसभाको अवसरमा बोल्दै मन्त्री ढकालले संघ र प्रदेश साझेदार भएपनि विकासका लागि स्थानीय सरकाले नेतृत्व लिनुपर्ने बताए । ‘वन क्षेत्रलाई आम्दानीको व्यवस्थित माध्यमको रुपमा लिनुपर्छ त्यसैले लुम्बिनी प्रदेश सरकार वन क्षेत्रलाई व्यवस्थापन गरेर अघि बढ्ने सोँचमा रहेको छ ।’ उनले भने ‘वन क्षेत्रमा उत्पादनका हिसावले धेरै सम्भावनाहरु छन्, ति सम्भावनालाई पहिचान गरेर हामी अघि बढ्नुपर्छ ।’
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविन बिडारीले सामुदायिक वनहरु आयआर्जन र गरिवी न्यूनिकरणको माध्यम बन्नुपर्ने बताए ।
नेपालमा करिव २३ हजारको संख्यामा सामुदायिक वनहरु रहेको र ति सबै सामुदायिक बनहरुले पर्यावर्यटन र बनको उचित व्यवस्थापनका साथ गरिवी न्यूनिकरणको काम गर्दा देशले आर्थिक रुपमा फड्को मार्न सक्ने उल्लेख गरे । उनले देशमा बन सम्बन्धि कानुन परम्परागत रहेको भन्दै कतिपय अवस्थामा कानुनले समेत सामुदायिक बनहरुलाई काम गर्न बाधा पु¥याउने गरेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पूर्व प्रमुख शिवराज सुवेदी, वडा नं ६ का अध्यक्ष खेमबहादुर थापा, सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष श्यामकला आचार्य, गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका सचिव तथा बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना, देवदह आदर्श बहुमुखी क्याम्पसका उपाध्यक्ष प्रकाश अर्याल लगाएतले बोल्दै सामुदायिक वनहरु उत्पादनसँगै त्यसको सदुपयोग, आय आर्जन, पर्यटकीय क्षेत्रको विकास , रोजगारी सिर्जना लगाएतका मुद्धामा केन्द्रित हुनुपर्ने उल्लेख गरे ।
सामुदायिक वनका अध्यक्ष सरोज कुमार थापाको अध्यक्षता र विष्णु बरालको सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष हुम कुमारी गाहा मगरले ६७ लाख ५० हजार रुपैंया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । सामुदायिक वनले आगामी आर्थिक बर्षको लागि ५६ लाख ४५ हजार रुपैंया बराबरको आम्दानी प्रक्षेपण गरेको छ । जसअन्तर्गत वन विकास तर्फ ४० प्रतिशत, महिला सशक्तीकरण तथा गरिबी न्यूनिकरणमा ३० प्रतिशत, विकासनिर्माणमा २० प्रतिशत र प्रशासनिक तर्फ १० प्रतिशत खर्च गर्ने लक्ष्य राखेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology