देवदह । पाल्पाली सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष ०८२/०८३ को लागि ५४ लाख ४६ हजार २१० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतवार सम्पन्न १३औं वार्षिक साधारणसभामा वनका अध्यक्ष सरोज कुमार थापाले ४७ लाख ६० हजार १५ रुपैयाँ नेट आम्दानी र घुम्तीकोषबाट ६ लाख ८६ हजार १९५ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बताए ।
प्रतिवेदन अनुसार वनको कोषमा हाल दुई लाख ८६ हजार ७८८ रुपैयाँ रहेको छ । काठ तथा गोलिया विक्रीबाट ३४ लाख १५ हजार ६९७ रुपैयाँ आम्दानी गर्ने लक्ष्य वनले लिएको छ । त्यसैगरी कटान मुछानबाट सात लाख ७० हजार ५३० रुपैयाँ वनले आम्दानी गर्नेछ भने जर्ना विक्रीबाट ७२ हजार र वन तथा पैदावार आपूर्ति समितिबाट दुई लाख प्राप्त हुने अनुमान छ । साथै अन्य शिर्षक र घुम्ती कोषबाट समेत वनले सात लाखभन्दा बढी रकम आम्दानी गर्ने छ ।
वनले प्रशासनिक खर्चमा १०.२२ प्रतिशत, वन व्यवस्थापनमा ४८.०८ प्रतिशत, महिला सशक्तिकरण तथा गरिवी निवारणमा २०.५० प्रतिशत र सार्वजनिक निर्माण तथा सहयोग शिर्षकमा २१.१८ प्रतिशत रकम खर्च गर्ने योजना बनाएको छ ।
वनको साधारण सभाले अध्यक्ष सरोज कुमार थापा, सचिव चिनिसरा थापा र कोषाध्यक्ष हुम कुमारी गाहामगरको प्रतिवेदन सर्वसम्मत पारित गरेको जनाइएको छ ।
साधारण सभाको औपचारिक कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण विडारी, सव-डिभिजन वन कार्यालय शीतलनगरका प्रमुख पुष्पराज श्रेष्ठ, सामुदायीक वन महासंघकी श्यामकला आचार्य, देवदह-६ का वडा अध्यक्ष खेमबहादुर थापा, शिवालय सामुदायिक वनका अध्यक्ष रामचन्द्र पौडेल लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology