बुटवल । फोनकल बाइपास गरेको आरोपमा रुपन्देहीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ८, नोडिहवाका २७ वर्षीय रोहित अहिर रहेका छन् ।
रुपन्देही सिद्धार्थनगरस्थित गुलाबचन्द गुप्ताको घरमा कोठा भाडामा लिएर विभिन्न उपकरण मार्फत कल बाइपास गर्ने गरेको आरोप प्रहरीले उनीमाथि लगाएको छ । अहिरको साथबाट स्पोइलर कम्पनी हब ९ थान, इन्टेल कोर आई ५ कम्पनीको सीपीयू ४ थान, मोडेम एक सय ६७ थान, एन्टेनासहितको हब २ थान, नेपाल टेलिकमको सिम एक सय ९० थान, एनसेल सिम दुई सय ७० थान बरामद गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
त्यस्तै उनको साथबाट एक थान एलसीडी मोनिटर, एक थान ल्यापटप, ५ वटा मोबाइलसहित इन्टरनेटको राउटर, स्विच, नेटवर्क भिडियो रेकर्डर र हब केबललगायत सामग्री पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत यमलाल बञ्जाडेले जानकारी दिए ।
पक्राउ परेका अहिरमाथि कल बाइपास कसूरमा रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology