बुटवल । शाईन रेसुङ्गा डेभलपमेण्ट बैंकले बुटवलमा ‘टेन के ’ रन प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिवार बैंकको केन्द्रिय कार्यालय बुटवलमा पत्रकार सम्मेलन गर्दै बैंकको १७औँ वार्षिकोत्सवको अवसरमा १० किलोमिटर दौड (टेन के रन) आयोजना गरिने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बुटवलमा राष्ट्रिय स्तरको दौड प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ‘रन टु शाइनु’ भन्ने नारासहित यहि फागुन ११ गते ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता गर्न लागिएको छ ।’ सीइओ पौडेलले भने, ‘विगत १६ वर्षदेखि वित्तिय कारोवार गर्दै आएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले सामाजिक उत्तरदायित्व बहन गरी विभिन्न प्रकारका सामाजिक क्रियाकलाप गर्दै आएको छ । अहिले पहिलो पटक राष्ट्रिय स्तरको दौड प्रतियोगिता गर्न लागेका छौं ।’
प्रतियोगिता गर्नको लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघसँग स्वीकृति लिईएको तथा स्थानीय पालिकासँग समेत सहकार्य गरिएको पौडेलले बताए ।
प्रतियोगितामा राष्ट्रियस्तरका धावक सहभागी रहने छन् भने पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ । प्रतियोगिता खुल्ला, स्थानीय ५० वर्षसम्म र स्थानीय ५० वर्षभन्दा माथिको गरी तीन तहमा हुनेछ ।
जस अन्तर्गत खुल्ला पुरुष तथा महिला विधाका विजेता धावकलाई जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै दोस्रो हुनेलाई जनही ४० हजार, तेस्रो हुनेलाई जनही २० हजार, चौथो हुनेलाई जनही १५ हजार र पाँचौ हुनेलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
स्थानीय धावकको सहभागीता बढाउन पाँ किलोमिटरको दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिको गरि दुई विधामा प्रतिस्पर्धा गराईनेछ । प्रतियोगितामा विजेता महिला पुरुष खेलाडीलाई जनही १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई पाँच हजार र चौथोलाई दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिने बैंकका ब्राण्ड तथा एच.आर डिपार्टमेन्ट प्रमुख प्रभास राईले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुनको लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइट गएर नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगिता बुटवलको कालिकानगरस्थित बैंकको केन्द्रिय कार्यालयबाट सुरु भएर मणिग्राम चोक हुँदै पुनः केन्द्रिय कार्यालयमा पुगेर समापन हुनेछ ।
प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन गर्ने जिम्मवारी लिएको कखरा इभेन्टका प्रमुख कार्यकारी अधिकृत हिमबिक्रम केसीले प्रतियोगितालाई व्यवस्थित गर्नको लागि प्रहरी, प्रशासन, स्थानीय पालिका सबै पक्षसंग समन्वय गरिने बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology