काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर जलमग्न भएको छ । पाइप फुटेपछि अहिले वरपर रहेका सरकारी कार्यालय डुबानमा परेका छन् ।
काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेपछि वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा पानी पसेको छ ।बाढिले जिल्ला अदालतको पहिलो तला डुबेपछि अदालतको सेवा प्रभावित भएको छ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अधिकारीले बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरण जिम्मेवार रहेको आरोप लगाएको छ । आफूहरुसँग सहकार्य नगरी तार भूमिगत गर्नेक्रममा मेलम्चीको पाइपमा क्षति पुगेको केयूकेएलका अधिकारीहरुको दाबी छ ।
तर केयूकेएलका अधिकारीको यो भनाइमा नेपाल विद्युत् प्राधिकरणका अधिकारीको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन । केयूकेएलका अधिकारीका अनुसार सो स्थानमा ६०० एमएम अर्थात करिब दुई फिट डायमिटर को पाइप फुटेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology