देवदह । रुपन्देहीको देवदहबाट कुम्भ मेला स्नान गर्न भारत गएका तिर्थालु सवार गाडी दुर्घटनाका घाइतेहरुको अवस्था खतरामुक्त रहेको छ । उत्तर प्रदेशको आजमगढ जिल्ला अस्पतालबाट सेतोमसीसंग कुरा गर्दै देवदहका दामोदर क्षेत्रीले घाइतेको अवस्था सामान्य रहेको बताए ।
"घाइतेको अवस्था खतरामुक्त छ ।" अस्पतालका चिकित्सकलाई उधृत गर्दै पुर्व जनप्रतिनिधि समेत रहेका क्षेत्रीले भने, "उहाँहरुको उपचार जारी छ । टाउकोमा चोट छैन । हात, खुट्टा र अन्य भागमा चोट देखिएको अस्पतालले जनाएको छ ।"
त्यसैगरी घटनामा मृत्यु भएकाहरुको शव आजै नेपाल ल्याउने तयारी गरिएको छ । मृतकका परिवार घटनास्थल नजिकै पुगिसकेको र आजै अस्पतालबाट शब बुझेर नेपाल ल्याइने परिवार स्रोतले जानकारी दिएको छ ।
भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी गएराति भारतको सलेम्पुरको आजमगढमा दुर्घटना भएको थियो । दुर्घटनामा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गीता शर्माको मृत्यु भएको छ ।
कुम्भमेलाबाट फर्किदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा देवदह-९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप गोरखपुरमा थप उपचार गराइएको छ ।
युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर अनियन्त्रित भै दुर्घटना भएको थियो । गाडी चालक निदाएर दुर्घटना भएको हुन सक्ने भारतीय प्रहरी अनुमान छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology