रुपन्देही । नेपाल शिक्षक महासंघ आन्दोलनमा उत्रिएको छ । शिक्षक र विद्यार्थीमैत्री शिक्षा ऐनको माग गर्दै मंगलवार महासंघमा आबद्ध शिक्षकहरुले हातमा कालोपट्टी बाँधेर देशैभरका पालिका प्रमुखहरुलाई ध्यानाकर्षण पत्र बुझाए ।
शिक्षक महासंघले वि. सं. २०७५, २०७८ र २०८० सालमा सञ्चालित आन्दोलनपछि नेपाल सरकारसँग विभिन्न महत्त्वपूर्ण सहमति भए पनि ती सहमतिहरू कार्यान्वयन गर्न सरकारले आलटाल गरेको आरोप लगाएको छ । शिक्षासम्बन्धी नयाँ ऐन ल्याउने विषयमा सरकारले पटक-पटक बहाना बनाई प्रक्रिया अघि नबढाएको महासंघको आरोप छ ।
विद्यालय शिक्षा ऐन संसदीय प्रक्रियामा रहेकै बेला निवृत्तीभरण सम्बन्धी अध्यादेश जारी गरिएको तथा शिक्षक-कर्मचारीका माग सम्बोधन नहुनुले सरकारको शिक्षा र शिक्षकप्रति नकारात्मक सोच झल्किएको महासंघले जनाएको छ । शिक्षक महासंघले सरकारकै निर्णयबाट हुनुपर्ने शिक्षक ग्रेड मिलान, मर्यादाक्रम, शिक्षक अस्पताल, शिक्षक सरुवाका कार्यविधि खारेजी, मासिक तलब भुक्तानीलगायतका काम रोकिनु शिक्षासम्बन्धी अन्योल बढाउने प्रयास भएको जनाएको छ ।
यसै सन्दर्भमा महासंघको राष्ट्रिय समितिको बैठकले आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । पहिलो चरणमा विभिन्न शान्तिपूर्ण विरोधका कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ । जस अनुसार आज देशैभरका पालिका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । आन्दोलनको दोस्रो चरणमा अवरोधात्मक, अवज्ञा (बहिष्कार) तथा काठमाडौं केन्द्रित सडक आन्दोलन गरिने महासंघले जनाएको छ ।
महासंघले आम विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षा सरोकारवालाहरूलाई आन्दोलनप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेको छ । महासंघका पदाधिकारीहरूले सरकारसँग शीघ्र विद्यालय शिक्षा ऐन जारी गर्न र विगतका सहमतिहरू कार्यान्वयन गर्न माग गर्दै थप संघर्षका कार्यक्रम अघि बढाइने चेतावनी दिएका छन् ।
राष्ट्रिय कार्यक्रम अनुसार मंगलवार रुपन्देहीको देवदहमा पनि शिक्षकले हातमा कालोपट्टी बाधेर नगर प्रमुख ध्रुवप्रसाद खरेललाई ध्यानाकर्षण पत्र बुझाइएका छन् । ध्यानाकर्षण पत्रमा देवदह नगर अध्यक्ष निर्मल ढुङ्गाना र सचिव होमनाथ शर्माले हस्ताक्षर गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology