०५ बैशाख काठमाडौ- नेपाल, मलेसिया र नेदरल्याण्डस् सम्मिलित त्रिदेशीय टि-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेदरल्यान्डस विजयी भएको छ । उसले आइतबार मलेसियामाथि १५ रनको जित दर्ता गरेको हो ।
नेदरल्यान्डले दिएको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले सबै ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १७६ रन मात्र बनाउन सक्यो ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको थियो ।
नेदरल्याण्डलाई विशाल योगफलतर्फ लैजान म्याक्स ओ डाउड र वेन कुपरले ६९ बलमा १ सय २५ रनको साझेदारी गरे । ७३ बलको सामना गरेका ओपनर डाउडले १ सय ३३ रनको अविजित पारी खेले। ओडाउडले ५९ बलमा शतक पुरा गरेका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि बिरेन्द्रदीप सिंहले सर्वाधिक ८७ रन बनाउँदा शरभिन् मुनिएण्डीले २८ रन जोडे । त्यस्तै अमिनुद्दिन राम्लीले २६ रन जोडे पनि लक्ष्य पुरा गर्न त्यो पर्याप्त हुन सकेन ।
नेदरल्यान्डले पहिलो जित दर्ता गर्दा मलेसियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
नेदरल्यान्ड पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो ।
मलेसियाले आफ्नो दोस्रो खेलमा सोमबार र नेदरल्यान्डले तेस्रो खेलमा मंगलबार नेपालको सामना गर्नेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology