काठमाडौं । नेपालको राजधानी काठमाडौं आज विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ। स्विजरल्यान्डको रियल टाइम वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूएयरका अनुसार आज बिहान ६ बजे काठमाडौंको वायु गुणस्तर सूचकांक एक्यूआई २११ मापन गरिएको छ। यो स्तर ‘निकै अस्वस्थ’ मानिन्छ। पहिलो स्थानमा भारतको नयाँदिल्ली (एक्यूआई २७७) र तेस्रोमा पाकिस्तानको लाहोर (एक्यूआई २०८) रहेका छन्।
काठमाडौंभित्र सबैभन्दा प्रदूषित क्षेत्र शंखपार्क देखिएको छ, जहाँ एक्यूआई २८४ पुगेको वातावरण विभागले जनाएको छ। त्यसपछि क्रमशः रत्नपार्क, भक्तपुर, भैंसीपाटी, खुमलटार, दाङको देउखुरी, इलाम, धनगढी र रारा क्षेत्रको हावा पनि अस्वस्थ स्तरमै छ। ती क्षेत्रहरू रातो रंगले संकेत गरिएको छ, जसको अर्थ ती ठाउँमा वायु श्वासप्रश्वासका लागि हानिकारक भइसकेको छ।
नेपाल सरकारद्वारा स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार एक्यूआई ०–५० ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘संवेदनशील समूहका लागि अस्वस्थ’, १५१–२०० ‘अस्वस्थ’, २०१–३०० ‘निकै अस्वस्थ’ र ३०१ भन्दा माथि ‘खतरनाक’ मानिन्छ। काठमाडौंको स्तर २०१ भन्दा माथि रहेकोले जनस्वास्थ्यका दृष्टिले जोखिमपूर्ण छ।
वातावरण विभागका अनुसार पछिल्ला केही दिनदेखि देशभर फैलिएका डढेलोका कारण वायु प्रदूषणमा तीव्र वृद्धि भएको हो। त्यससँगै उद्योग, कलकारखाना, सवारीसाधन, खुला फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घर र सडक निर्माणको कामले उठ्ने धुलोले समेत प्रदूषण थपिएको बताइएको छ।
विशेषतः चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण उच्च हुने गरेको छ। यी महिनामा वर्षा नहुनु, हावाको गति कम हुनु र डढेलो लाग्ने सम्भावना उच्च रहनुले प्रदूषणको दर बढ्ने गरेको हो।
चिकित्सकहरूका अनुसार यस्तो प्रदूषित हावाले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास तथा मुटुका बिरामी, र गर्भवती महिलालाई गम्भीर असर पार्न सक्छ। त्यसैले स्वास्थ्यकर्मीहरूले अनावश्यक रूपमा घर बाहिर ननिस्कन, निस्कनै परेमा अनिवार्य रूपमा मास्क प्रयोग गर्न सुझाव दिएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology