०६ बैशाख काठमाडौ- नेपालले त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत लगातार दाेस्राे जित निकालेकाे छ । नेपालले मलेसियालाई ९ विकेटले हराएको छ । ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो ब्याटिङ प्रदर्शन गरे संगै नेपालले दोस्रो जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतीमा पूरा गरेको हो ।
नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । ४१ बलमा उनले तीन चौका र पाँच छक्काको मद्दतमा ६२ रन बनाए । उनले शनिबार भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए । यस्तै ४२ रन बनाएका आशिफ शेखलाइ मलेसियाका विरनदीप सिंहले आउट गरे । दीपेन्द्र सिंह ऐरीले तीन बलमा ६ रन बनाए ।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि मेलेसियाले पहिले व्याटिङ गरेको थियो । १६ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै मलेसियाले १०९ रन मात्र बनाएको थियो । मलेसियालाई सस्तैमा समेट्न बलिङतर्फ नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र शाहब आलमले एक–एक विकेट लिएका थिए ।
दुवै खेलमा जितेको नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले मङ्गलवार नेदरल्यान्ड्सविरुद्ध र बिहीवार फेरि मलेशियाविरुद्ध खेल्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology