काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच आजै सहमति हुने सत्ता गठबन्धनले विश्वास लिएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र शिक्षकबीचको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताए ।
उनका अनुसार शिक्षकहरूका मागप्रति सरकार गम्भीर छ र नेपाल शिक्षक महासङ्घसँग भइरहेको संवादले निष्कर्षको रूप लिन सक्ने सम्भावना देखिएको छ। ज्ञवालीले आजै सहमति भई बिहीबारदेखि देशभर सहज रूपमा पठनपाठन सुचारु हुने अपेक्षा व्यक्त गरे ।
शिक्षकहरू वार्तामा आउन ढिलाइ हुनुमा सरकारको नियतभन्दा पनि विधेयकप्रति उनीहरूले लिएको ‘ऐन नलिई नफर्कने’ अडान कारण भएको टिप्पणी उनले गरेका छन् । सरकार सुरुबाटै वार्ताका लागि तयार रहेको भन्दै उनले अहिलेसम्मको संवाद प्रक्रिया सकारात्मक भएको तर्क गरे ।
उनले भने, “शिक्षकहरूसँगको वार्ता सकारात्मक तरिकाले अगाडि बढेको छ । आज दिनभरमा सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएर भोलिदेखि सहज रूपमा पठनपाठन हुन्छ भन्नेमा मेरो विश्वास छ । नेपाल शिक्षक महासङ्घ र सरकारबीचको छलफलमा बनेको सहमतिका आधारमा मैले भनेको हुँ । सरकारले खेलाँची गरेको होइन ।”
बालुवाटारमा भएको बैठकमा सत्ता गठबन्धनका नेताहरूले शिक्षा क्षेत्र लामो समय ठप्प हुन नदिन छलफललाई निष्कर्षमा पुर्याउनु जरुरी रहेको निष्कर्ष निकालेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology