काठमाडौं । विद्यालय शिक्षा विधेयकका मागहरू सम्बोधन गर्ने कार्यका लागि गठित संसदीय उपसमितिको म्याद १० दिन थप गरिएको छ। प्रतिनिधि सभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा उपसमितिलाई ३५ दिनको समय दिइएको भए पनि सहमति जुट्न नसकेपछि म्याद थप गर्ने निर्णय गरिएको हो।
समिति सभापति अम्मरबहादुर थापाले बैठकमा जानकारी दिँदै उपसमितिलाई थप १० दिनको समय दिइएको पुष्टि गरे। यसअघि ३५ दिनको समयावधिमा उपसमितिले कडा मेहनत र गम्भीरतापूर्वक छलफल गरेको भएता पनि सबै बुँदामा सहमति जुटाउन नसकेको थियो।
उपसमितिका संयोजक छविलाल विश्वकर्माले १० दिनको समय थप गर्ने माग राखेका थिए, जसलाई समितिले स्वीकृति दिएको हो। सभापति थापाले भने, "उपसमितिले ३५ दिनसम्म निरन्तर परिश्रम गरेर काम गरेको छ, र केही बुँदाहरू बाहिर जानुपर्ने अनुमान गरिएको थियो, तर यसलाई उपसमितिबाटै टुंग्याइएकोमा खुशी छौँ।"
सभापति थापाले विद्यालय शिक्षा विधेयकलाई अझ समृद्ध बनाउनुपर्ने कुरामा जोड दिँदै भने, "हामीले विधेयकलाई अझ प्रभावकारी बनाउन प्रयास गर्नुपर्छ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology