काठमाडौं । राजनीतिक हस्तक्षेपका कारण ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी काम गर्न नसकेको सांसदहरुले बताएका छन्। राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बुधबार बोल्दै उनीहरुले अख्तियारको कमजोर प्रदर्शनप्रति आलोचना गरे।
समिति सभापति मायाप्रसाद शर्माले ठूला भ्रष्टाचारका मुद्दामा राजनीतिक हस्तक्षेप हुने भएकाले अख्तियारले प्रभावकारी रूपमा काम गर्न नसकेको बताए। उनले भने, ‘साना र कर्मचारीका विषयमा राजनीतिक हस्तक्षेप छैन होला। तर ठूला भ्रष्टाचारका मुद्दामा राजनीतिक प्रभावका कारण अख्तियारले आवश्यक निर्णय लिन सकेको छैन।’
सभापति शर्माले भ्रष्टाचार, कुशासन, अनियमितता र ढिलासुस्तीले देश विकासमा बाधा पु¥याएको भन्दै राज्यले जनताले खोजेको प्रतिफल दिन नसकेको टिप्पणी गरे। उनका अनुसार, सबै निकायले स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्नुपर्छ भन्ने जनताको चाहना पूरा हुन सकेको छैन।
नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले अख्तियारतर्फ मानिसको आकर्षण बढेको टिप्पणी गरे। उनले भने, ‘पहिले भन्सारमा जान चाहनेहरु धेरै थिए, अहिले अख्तियारतर्फ आकर्षण देखिन्छ। वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म को चोखो छ भन्ने प्रश्न आम मानिसमा उठेको छ।’
नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले अख्तियारलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिए। उनले ऐलानी जग्गामा भवन निर्माण रोक्न अख्तियारले दिएको निर्देशनले करोडौँ रुपैयाँको बजेट फ्रिज भएको बताउँदै यसबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे।
नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले अख्तियारप्रति आलोचनात्मक दृष्टिकोण बढेको उल्लेख गरे। उनले अख्तियारमा उजुरीको संख्या बढ्नु सकारात्मक हो कि नकारात्मक भन्ने प्रश्न गर्दै प्रमाणबिहीन उजुरी नियन्त्रण गर्नुपर्नेमा जोड दिए। ‘कम उजुरी आउनु भनेको भ्रष्टाचार कम हुनु हो,’ श्रेष्ठले भने, ‘त्यसैले उजुरी कम आउने वातावरण बनाउन जरुरी छ।’
सांसदहरुले अख्तियारलाई राजनीतिक हस्तक्षेपबाट पर राखेर स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा जोड दिएका छन्। अख्तियारले ठूला भ्रष्टाचारका मुद्दामा समेत प्रभावकारी कदम नचालेको भन्दै उनीहरुले संसद्बाटै सुधारको पहल गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology