काठमाडौं । मधेस प्रदेश सरकारका तत्कालिन अर्थमन्त्री विजयकुमारसहित आठजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सरकारी सम्पत्ति हानी, नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो।
अख्तियारका अनुसार, वागमती नगरपालिका, सर्लाहीमा सरकारी रकम दुरुपयोग भएको पाइएको छ। सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा संघीय र मधेस प्रदेश सरकारको करोडौं रकम माछापोखरी निर्माणमा खर्च भएको थियो। अनियमितता भएको ठहरसहित अख्तियारले मुद्दा दायर गरेको हो।
प्रतिवादीहरुमा तत्कालिन वागमती नगरपालिका प्रमुख भरतकुमार थापा, उपप्रमुख लिलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना प्रमुख निरञ्जन लामिछाने, योजना अधिकृत सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल, मधेस प्रदेश सरकारका तत्कालिन अर्थमन्त्री विजयकुमार र अर्थ मन्त्रालयका कानून अधिकृत गोकुल भुजेल रहेका छन्।
अख्तियारले उनीहरुमाथि सरकारी सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा कुल ५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ विगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ।
मुद्दामा तत्कालिन अर्थमन्त्री विजयकुमारको भूमिका मुख्य रहेको बताइएको छ। उनले २०७८ साल असार ६ गतेको निर्णयमार्फत माछापोखरी निर्माणका लागि ३० करोड रुपैयाँ अनुदान दिने निर्णय गरेका थिए। अख्तियारको अनुसन्धानले अर्थमन्त्रीले एकल निर्णय गरी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग सम्झौता गरेको र मन्त्रिपरिषद्मा प्रस्ताव नगरी रकम उपलब्ध गराएको पाइएको छ।
अख्तियारका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, अर्थमन्त्री विजयकुमारसहित आठजनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology