देवदह । अनेमसंघ (क्रान्तिकारी) देवदह नगरको चौथो अधिवेशन जेठ १५ गते हुने भएको छ। संघको आइतवार सम्पन्न नगर बैठकले अधिवेशनको मिति तय गर्दै तयारी अघि बढाउने निर्णय गरेको हो।
देशैभरी अधिवेशन गर्ने र संगठनलाई नयाँ नेतृत्व प्रदान गर्ने केन्द्रिय सर्कुलर अनुसार देवदह नगर अधिवेशनको तयारी थालिएको संघकी लुम्बिनी प्रदेश सदस्य सुन्दरी गिरीले जानकारी दिइन् ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सदस्य मोतीलाल ढकालले महिला संगठनहरू पार्टीको मेरुदण्ड भएको उल्लेख गरे। उनले अधिवेशनबाट संगठनलाई सशक्त बनाउने नेतृत्व आउने गरी नेतृत्व चयनको लागि आवश्यक गृहकार्य गर्न समेत आग्रह गरे।
नेता ढकालले भने, “महिला संगठनको अधिवेशन पार्टीका लागि नीतिगत बहस र सशक्त नेतृत्व निर्माणको अवसर हो, यसलाई उत्सवको रूपमा लिइनुपर्छ।”
बैठकमा पार्टी प्रदेश समिति सदस्य निर्मला जिसी, पार्टी नगर अध्यक्ष दीपक न्यौपाने, जबस फ्याक्सन इन्चार्ज भरत तिवारी लगायतले आ–आफ्ना धारणा राखे। उनीहरूले अधिवेशनलाई सांगठनिक सुदृढीकरण, स्थानीय मुद्दाको पहिचान र महिला नेतृत्वको विकाससँग जोडेर हेर्नुपर्नेमा जोड दिएका थिए।
नगर अध्यक्ष लक्ष्मी सिग्देलको अध्यक्षता रहेको बैठकको सञ्चालन सुशीला आलेले गरेकी थिइन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology