देवदह । देवदह नगरपालिकामा मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । बिहिवार एक कार्यक्रमका बीच नगर प्रमुख ध्रुवप्रसाद खरेलले चौंथो मेयर कप उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख खरेलले खेलकुद अब मनोरन्जन वा रुचीको विषय मात्र नभएर यो व्यावसायिक पेशाको रुपमा विकास भएको बताए । ‘आज खेल खेलेरै राम्रो कमाइ गर्ने खेलाडीहरु हामी माझ छन् ।’ खरेलले भने, ‘युवाहरुले देशमा केहि भएन, केही छैन भने धारणा त्याग्नु पर्छ । अहिले खेल खेलेरै पनि जीवनयापन सकिने अवस्था छ ।’
नगरपालिकाले खेलसंगै सडक पूर्वाधार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै प्रमुख खरेलले समृद्ध देवदह बनाउने योजना सहित काम भैरहेको बताए ।
कार्यक्रमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, नगर प्रवक्ता गणेश डुम्रेसहित वडा अध्यक्ष तथा खेल समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।
नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेको अध्यक्षता, समितिका सदस्य मिलन मास्की रानाको स्वागतमा भएको कार्यक्रम शिक्षा अधिकृत एवम् समितिका सदस्य सचिव परशुराम ढकालले सञ्चालन गरेका थिए ।
नगरपालिकाको पाँच लाख बजेटमा सञ्चालित प्रतियोगिता देवदह–१२ स्थित प्रगति माविको प्राङ्गणमा एक हप्तासम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नगरका सवै वडाबाट १२ टिम सहभागी छन् ।
प्रतियोगितामा विजेता हुने टोलीले ५१ हजार रुपैयाँ नगद र उपविजेताले ३१ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैविच बिहिवार सम्पन्न उद्घाटन खेलमा वडा नं ७ ले विजयी सुरुवात गरेको छ । उसले वडा नं २ लाई ०–२ गोल अन्तरले पराजित गरेको हो । यस्तै विहिवार साँझ दोस्रो खेलमा वडा नं ३ ले वडा नं ६ को सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत शुक्रवारको खेल वडा नं वडा नं ४ र वडा नं ११ को विच हुने समितिका सदस्य देव थापाले जानकारी दिए ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology