भैरहवा । अन्डर-१६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टीम घोषणा गरिएको छ । क्रिकेटर समीर अली मुसलमानको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा गरिएको लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारीले जानकारी दिए ।
कर्णाली प्रदेशको सुर्खेतस्थित कालुनचोक क्रिकेट मैदान र बीरेन्द्रनगर क्रिकेट मैदानमा यही जेठ १९ गतेदेखि ३१ गतेसम्म यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि मुसलमानको कप्तानीमा लुम्बिनी प्रदेशका १८ खेलाडी समावेश गरी टीम घोषणा गरिएको हो । मुसलमान प्रदेशस्तरीय यु–१६ क्रिकेट छनोट खेलमा रुपन्देहीको समेत कप्तान थिए । छनोट खेलमा उनले एक शतक प्रहार गर्नुका साथै सबैजसो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
संघका कार्यबाहक अध्यक्ष राजभण्डारीका अनुसार प्रदेशको टीममा रोजन कुमाल, रौनक श्रीवास्तव, सिद्धार्थ ढकाल, केशव बिष्ट, लक्ष्मण कुमाल, शुभव खनाल, प्रिन्स पाल, चन्द्र थापा, दिव्यांश वर्मा, प्रेमसागर यादव, शोएब हसन मुसलमान, दक्ष ठाकुर र आरिफ खान छनोट भएका छन् । यस्तै, टीममा करण घर्ती मगर, आदित्य ढकाल, तुषार चौहान र दिवश अर्याललाई रिजर्भ खेलाडीका रुपमा राखिएको छ । प्रदेशको टीम कोचमा सञ्जु क्षेत्री र टीम म्यानेजरमा सिद्धार्थ श्रेष्ठ रहेका छन् ।
संघका प्रदेश सदस्य प्रथम पराजुलीले एक सातासम्म रुपन्देहीमा संचालित प्रदेशस्तरीय छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई समावेश गरी लुम्बिनीको टीम बनाइएको बताए । उनले भने, ‘छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुले टीममा स्थान बनाएकाले यसपटक राष्ट्रिय प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले हात पार्छ भन्नेमा हाम्रो विश्वास छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology